तिनाउको ‘पिन्चे साग’ काठमाडौँको भान्छामा

पाल्पा । तिनाउ गाउँपालिका २ नं. वडा दोभानका किसानहरूका लागि ‘पिन्चे साग’ आम्दानीको स्रोत बनेको छ । उष्णदेखि समशितोष्ण हावापानीमा राम्रोसँग सप्रिने यो सागका लागि दोभानको प्राङ्गारिक पदार्थयुक्त दोमट माटो उपयुक्त भएकाले यहाँका कृषकहरूले यसको व्यावसायिक खेतीलाई तीव्रता दिएका छन् । भिटामिन ‘ए’ र ‘सी’ प्रचुर मात्रामा पाइने पिन्चे सागको उपभोगले मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पाचन प्रक्रियालाई सुधार्न र पेट सफा राख्न विशेष मद्दत पुग्ने भएकाले बजारमा यसको माग उच्च रहेको छ ।

पछिल्लो समय तिनाउ गाउँपालिकाले किसानको उत्पादनलाई बजारसम्म पु¥याउन चालेको कदमले गाउँपालिकाका कृषकहरू उत्साहित भएका छन् । गाउँपालिकाले रुपन्देहीको बुटवलमा स्थापना गरेको तिनाउ कृषि उपज संकलन तथा विक्री केन्द्रमार्फत यहाँको ताजा साग सिधै राजधानी काठमाडौँ पठाउने व्यवस्था मिलाइएको केन्द व्यवस्थापन समितिथका अध्यक्ष टेमबहादुर बगालेले जानकारी दिनुभयो । उहाँले यसले गर्दा किसानहरूले आफ्नो उत्पादन विक्रीका लागि बजार धाउनुपर्ने बाध्यता अन्त्य भएको बताउनुभयो । अहिले दोभानमा कृष्णबहादुर तुलाचनले दश रोपनी क्षेत्रफलमा व्यवसायिक साग खेती गर्नुभएको छ भने अन्य किसानहरुले सामान्य रुपमा अन्य खेतीसंग मिलाएर यो सागको खेती गर्ने गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्र्धन र किसानको हित नै पालिकाको प्राथमिकता रहेको बताउनुभयो । उहाँले कृषकहरूको सहजताका लागि केन्द्रले सिधै किसानको खेतबाटै साग संकलन गर्ने गरेको बताउनुभयो । ढुवानी लागत कम गरी किसानलाई अधिकतम लाभ दिलाउनका लागि ठुला गाडीहरूको प्रयोग गरी उत्पादनलाई काठमाडौँसम्म पु¥याउने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । आगामी दिनमा पिन्चे सागको व्यावसायिक खेती विस्तारका लागि थप योजनाहरू ल्याइने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय