प्रभास तालमा बनेको संरचना भत्काएर पुनः दुई करोड बढी लगानी

पाल्पा । ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रभास (कमलपोखरी) ताल अस्तव्यत बनेको छ । दीर्घकालीन योजना र समन्वयको अभावका कारण प्रदेश सरकारको बजेटबाट तीन वर्षअघि मात्र निर्माण गरिएका सौन्र्दयकरणका संरचनाहरु भत्काएर तानसेन नगरपालिकाले पुनः सोही स्थानमा दुई करोड बढीको नयाँ योजना सुरु गरेको छ ।

आर्थिक वर्ष २०७९/८० मा डिभिजन वन कार्यालय पाल्पाले प्रदेश सरकारको सहयोगमा करिब २० लाख रुपैयाँ लागतमा प्रभास तालको सौन्दर्यकरण गरेको थियो । तत्कालीन डिभिजन वन कार्यालयका इन्जिनियर बालकृष्ण कार्कीको डिजाइनमा १९ लाख ५ हजार १२१ रुपैयाँ खर्चिएर ताल वरिपरि पदमार्ग (इन्टरलक ब्लक), सानो पर्खाल र काठको प्रतीक्षालय निर्माण गरिएको थियो । तालको सरसफाइसँगै गरिएको यो कामले पर्यटक लोभ्याउन थालेकै बेला तानसेन नगरपालिकाले ती सबै संरचनामा डोजर चलाएर ध्वस्त पारेको छ । तीन आर्थिक वर्ष पनि पूरा नहुँदै बनेका संरचना भत्काएर फेरि उस्तै प्रकृतिको कामका लागि करोडौ बजेट खर्चिनुलाई नागरिकले ‘बजेट सक्ने मेसो’ का रुपमा टिप्पणी गरेका छन् ।

अहिले युएनओपिएस परियोजना अन्तर्गत तानसेन नगरपालिकाले ‘कन्स्ट्रक्सन एण्ड ब्युटिफिकेसन’ को नाममा बनेको संरचना भत्काएर काम गरिरहेको छ । हिम श्रृंखला निर्माण सेवाले २०८२ मंसिर ४ मा सम्झौता गरी दुई करोड ७ लाख ४४ हजार ७६४ रुपैयाँमा पहिलेकै जस्तो पदमार्ग निर्माण, चिल्ड्रेन पार्क र सौन्दर्यकरणको काम थालेको छ । नगरपालिकाका इन्जिनियर शिव शर्माले तालको सौन्दर्यकरणको लागि डिपीआर तयार गरिए अनुसार काम सुरु भएको बताउनुभयो । उहाँले तालको अध्ययन गर्दा वर्खामा पानीको सहत बढी हुने भएकोले पहिलेको पदमार्ग भन्दा ५० सेन्टिमिटर जमिन माथी उठाएर नयाँ पदमार्ग बनाउनु पर्ने देखिएकोले सोही अनुसार काम भएको बताउनुभयो । तर, पहिलेका संरचनाका सामग्रीको सदुपयोग गरेर काम गर्ने स्टिमेट भएको इन्जिनियर शर्माको भनाइ छ ।

केही समय अगाडि सौन्दर्यकरणले चमक दिएको प्रभास ताल अहिले ‘विजोग’ अवस्थामा छ । भत्काइएका संरचनाका सामग्रीहरु तालको छेउमा अस्तव्यस्त छन् । तालभित्र प्लाष्टिक र बोटलको थुप्रो लागेको छ भने लुम्बिनी मेडिकल कलेजको ढलसमेत अप्रत्यक्ष रुपमा सिधै तालमा मिसिएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको यो तालको संरक्षण गर्नुको साटो स्थानीय सरकार अतिक्रमण र आफू अनुकूलका संरचना बनाउन तल्लीन देखिएको सरोकारवालाको भनाइ छ ।

तानसेन नगरपालिका भित्रै कयौँ योजनाहरु बजेट अभावमा अलपत्र छन् । तर, नगरपालिकाले ती अधुरा काम पुरा गर्नु बजेट व्यवस्थापन गर्नुको साटो प्रभास तालमा बनेको संरचना भत्काउने र बनाउने काममा लागि परेको छ । सोही परियोजना अन्तर्गत तानसेनको मुख्य बजार क्षेत्र बैंक रोडमा भइरहेको कामको गति पनि अत्यन्तै सुस्त गतिमा हुँदा नगरबासीले सास्ती खेपिरहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय