
पाल्पा । वन डढेलोको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले पाल्पामा वन डढेलो व्यवस्थापन सप्ताह अन्तर्गतका कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन् । हरेक वर्षझैँ यस वर्ष पनि चैत १ देखि ७ गतेसम्म विभिन्न सचेतनामूलक गतिविधिसहित सप्ताह मनाइएको छ ।
डिभिजन वन कार्यालय पाल्पाका सिनियर डिभिजनल वन अधिकृत मोहनप्रसाद श्रेष्ठका अनुसार सप्ताहलाई प्रभावकारी बनाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । उहाँले वन डढेलो नियन्त्रणका लागि १० जनाको विशेष दस्ता समेत तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । उहाँले डढेलो नियन्त्रका लागि सबै नागरिक र सरोकारवाला जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
सप्ताह अन्तर्गत रिब्दीकोट, तानसेन, माथागढी र रामपुर क्षेत्रका जोखिमयुक्त वन क्षेत्रमा मोबाइल माइकिङ, पर्चा–पाम्प्लेट वितरण तथा सन्देशमूलक जिङ्गल प्रशारणमार्फत जनचेतना अभिवृद्धि अभियान सञ्चालन गरिएको छ । त्यस्तै, आठवटै सव–डिभिजन वन कार्यालयमार्फत विद्यालयहरूमा स्कुल शिक्षा कार्यक्रम सञ्चालन गरी विद्यार्थीहरूलाई डढेलोका कारण, जोखिम र नियन्त्रणका उपायबारे जानकारी दिइएको छ ।
बगनासकाली र पूर्वखोला गाउँपालिकामा पनि यस्तै सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ । जोखिमयुक्त वन क्षेत्रमा पातपतिङ्गर सरसफाइ तथा अग्निरेखा निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । बुधबार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, वन प्राविधिक तथा स्थानीय समूहहरूको सक्रिय सहभागितामा श्रीनगर सामुदायिक वन क्षेत्रमा पातपतिङ्गर व्यवस्थापन गर्ने वन डढेलो नियन्त्रण डेमो प्रदर्शनी कार्यक्रम गरिएको छ ।
कार्यालयका सूचना अधिकारी खिलबहादुर बिहीबार सप्ताह अन्तर्गत बिहीबार पालिका स्तरीय समन्वय बैठक र अन्तक्रिया कार्यक्रमहरू सञ्चालन हुने छ । रिब्दीकोटबाट सुरु हुने कार्यक्रम अन्य पालिकामा पनि क्रमशः गरिने उहाँले बताउनुभयो । यसका साथै खोटो संकलनमा संलग्न ३५ समूह, उद्योग प्रतिनिधि र वन प्राविधिकहरूबीच क्लष्टरस्तरमा छलफल तथा तिनाउ क्षेत्रमा मोबाइल माइकिङ कार्यक्रम गर्ने योजना समेत रहेको सूचना अधिकारी तामाङको भनाइ छ ।
सप्ताहको अन्तिम दिन जिल्ला स्तरमा सरोकारवाला निकायसँग अन्तक्रिया कार्यक्रम आयोजना गरिनेछ । जसले वन डढेलो नियन्त्रणमा समन्वय, सचेतना र पूर्वतयारीलाई सुदृढ बनाउन सहयोग गर्ने विश्वास गरिएको कार्यालयले जनाएको छ । करूवा पत्रिकामा समाचार छ ।








