
पाल्पा । पाल्पाको पश्चिम भेगको आर्थिक र सामाजिक विकासको मेरुदण्ड (लाइफलाइन) मानिएको पाल्पा–रोल्पा सडक अन्तरगत हार्थोक–छहराखण्डको स्तरोन्नतिको काम तीव्र रुपमा अगाडि बढेको छ । पहिलो चरणमा रिब्दीकोट गाउँपालिका कार्यालयदेखि कुसुमखोला र पालुङमैनादीको सिमानासम्म सडक स्तरोन्नति गर्न सुरु भएको हो ।
हार्थोकदेखि छहरासम्मको सडक लामो समयदेखि जीर्ण अवस्थामा रहेको थियो । यात्रुले सास्ती खेप्दै आएको यो सडकखण्ड स्तरोन्नति गर्ने कार्य सुरु भएसँगै स्थानीयसमेत उत्साहित देखिएका छन् । लुम्बिनी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा राखेको यस सडकले पाल्पाको पश्चिम भेगसहित छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई समेत प्रत्यक्ष राहत पु¥याउने छ ।
यातायात पूर्वाधार निर्देशनालय बुटवल लुम्बिनीका अनुसार २०८४ असोज २६ गतेभित्र काम सम्पन्न गर्ने गरी १६ करोड ३१ लाख १९ हजार रुपैयाँमा एम.एस. राजेश्वरी–रमानिया–आर एण्ड आर जेभीसँग ठेक्का सम्झौता भएको छ । हार्थोकदेखि करिब ६ किलोमिटर मिटर (५.८८० किमि) सडकलाई अस्फाल प्रविधिमार्फत डबल लेन कालोपत्र गरिने निर्देशनालयका सूचना अधिकारी तथा वरिष्ठ इन्जिनियर अरुण गुप्ताले जानकारी दिनुभयो । उहाँले चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले हार्थोक–छहरा खण्डका लागि ५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । यो सडकले लुम्बिनीका पहाडी जिल्लाहरूलाई जोड्दै कर्णाली प्रदेशको सल्यान (कपुरकोट) सम्म पहुँच विस्तार गर्नेछ ।
सडक चौडा गर्ने, नाली निर्माण गर्ने, रिटेनिङ् पर्खाल लगाउनेक्रममा केही संरचनागत विवाद देखा परेको सूचना अधिकारी गुप्ताले बताउनुभयो । विशेषगरी सडक सीमाभित्र पर्ने घरटहरा हटाउने र स्थानीयबाट जग्गा उपलब्ध गराउने विषयमा निर्माण व्यवसायी र स्थानीयबीच समन्वयको अभाव देखिएको उहाँले बताउनुभयो । ‘हामीलाई आइपरेको मुख्य चुनौती भनेको सडक क्षेत्रमा पर्ने घरटहरा हटाउनु हो,’ इन्जिनियर गुप्ताले भन्नुभयो, ‘साइट क्लियर हुन सके कामले अझै गति लिने थियो ।’ स्थानीय बासिन्दाले भने आयोजनाको विस्तृत जानकारी दिने होर्डिङ बोर्ड नराखिएको र समन्वय नगरी काम अघि बढाइएको गुनासो गरेका छन् ।
स्थानीय बासिन्दा दिवाकर अर्यालले सडक चौडा गर्ने र रिटेनिङ पर्खाल लगाउने क्रममा लापरबाही भएको आरोप लगाउनुभयो । उहाँले काम गर्दा सथानीय बासिन्दासंग समन्वय गरेर गर्दा सहज हुने बताउनुभयो ।
नाली निर्माण, रिटेनिङ पर्खाल, घरटहरा हटाउने विषयमा लुम्बिनी प्रदेशभा सभामुख तुलाराम घर्तिमगर, गाउपालिका अध्यक्ष नारायण बहादुर कार्की लगायतको उपस्थितिमा स्थानीय बासिन्दासंग छलफलसमेत भएको छ । छलफलमा स्थानीय बासिन्दाले घरटहरा हटाउने विषयमा आफ्ना सुझाव राखेका थिए । पुरानो र साँघुरो सडक भएकाले कतिपयस्थानमा घरटहरा रहेका छन् । त्यस्ता स्थानमा सडकसमेत साँघुरा छन् । स्थानीय बासिन्दा, निर्देशनालय र निर्माण व्यवसायी बसेर यस विषयमा निकास निकाल्नुपर्ने स्थानीय सरस्वती श्रेष्ठको भनाइ छ । करुवा पत्रिकामा समाचार छ ।







