डेंगु र जापानिज इन्सेफलाईटिस नियन्त्रणका लागि पैरवी कार्यक्रम

पाल्पा । स्वास्थ्य कार्यालय पाल्पाले डेंगु तथा जापानिज इन्सेफलाईटिस जस्ता किटजन्य रोगहरूको रोकथाम र नियन्त्रणका लागि सरोकारवालाहरूसँग पैरवी कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय डेंगु र जापानिज इन्सेफलाईटिसबाट जनस्वास्थ्यमा देखिएका गम्भीर चुनौती र यसको न्यूनीकरणमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रमा आयोजना गरिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा सिनियर ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले नेपालमा डेंगु प्रमाणित भएको २२ वर्ष पुगिसकेको र विश्वमा वार्षिक करिब ५ करोड मानिस यसबाट प्रभावित हुने गरेको जानकारी दिनुभयो । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले सार्ने यो रोगका मुख्य लक्षणहरूमा उच्च ज्वरो आउने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशीमा पीडा हुने र शरीरमा राता विमिरा देखिने बताउनुभयो । उहाँले उज्यालोमा टोक्ने यो लामखुट्टेको अण्डा महिनौंसम्म जीवित रहने र संक्रमित लामखुट्टेका सबै अण्डाबाट जन्मने बच्चा पनि संक्रमित नै हुने भएकाले जोखिम उच्च रहने प्रष्ट पार्नुभयो । यसको मुख्य उपचार भनेकै घर वरपर पानी जम्न नदिने, पानीका ट्याङ्की ढाकेर राख्ने र ’खोज र नष्ट गर’ अभियानलाई समुदायस्तरमा लैजानु रहेको सूचना अधिकारी समेत रहनुभएका भट्टराईले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा जापानिज इन्सेफलाईटिसका विषयमा प्रस्तुति राख्दै क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले यो रोग डेंगुभन्दा पनि घातक रहेको बताउनुभयो । क्यूलेक्स लामखुट्टेले टोकेर सुँगुर, बँगुर, हाँस र बकुल्लाबाट मानिसमा सर्ने यो रोगको मृत्युदर उच्च रहेको उहाँको भनाइ थियो । न्यौपानेका अनुसार पाल्पामा सन् २०२२ मा एक जनामा देखिएको यो संक्रमण गत वर्ष रैनादेवी छहरा, तिनाउ, बगनासकाली र रामपुरका ८ देखि ७० वर्ष उमेर समूहका ४ जनामा देखिएको थियो । नेपालका करिब ६० जिल्लामा फैलिसकेको यो रोगका ९० प्रतिशत लक्षण नदेखिने भएकाले थप सावधानी अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय