
पाल्पा । तिनाउ गाउँपालिका– ६ मा रहेको डुम्रे दुग्ध कृषि सहकारी संस्थाबाट खरिद गरिएको दूध तताउँदा प्लास्टिक जस्तै जमेपछि उपभोक्ताहरू अचम्मित र त्रसित बनेका छन् । तिनाउ–६, बेलडाँडाका स्थानीय उपभोक्ता मनकुमारी सिंजालीले घर लगेको एक लिटर दुध तताउने क्रममा अस्वाभाविक रूपमा जमेर प्लास्टिकको पत्र जस्तो बनेपछि सामाजिक संजाल टिकटक मार्फत यो घटना बाहिर आएको हो ।
दूधको त्यस्तो अवस्था भएपछि सिंजालीले दूध तताउदै गरेको भिडियो सार्वजनिक गरेपछि अन्य उपभोक्ताले पनि दूध बारे आफूहरुको पनि यस्तो भोग्नु परेको गुनासो गरेका छन् । यस विषयमा विक्रेता संग सिंजालीका छोरा अमित सिंजालीलेले जानकारी गराउदा दूधमा ‘प्रोटिनको मात्रा धेरै’ भएकाले त्यस्तो भएको हुन सक्ने जवाफ दिएको बताउनुभयो । तर, उपभोक्ताहरु भने विक्रेताको यो तर्कमा सहमत हुन सकेका छैनन् । प्राकृतिक प्रोटिनका कारण दूध त्यसरी प्लास्टिक जस्तो नबन्ने भन्दै यसमा कुनै अखाद्य वस्तु वा रसायनको मिसावट हुन सक्ने आशंका व्यक्त गर्दै नियमित दूधको परीक्षण गर्नुपर्ने बताएका छन् । सिङ्जालीले भन्नुभयो, “प्राकृतिक दूध तताउँदा कि फाट्छ कि खुवा बन्छ, तर यो त अर्कै प्लास्टिक जस्तो तन्किने बन्यो, जसले गर्दा हाम्रो स्वास्थ्य माथि खेलबाड भएको महसुस भइरहेको छ ।“
डुम्रे दुग्ध कृषि सहकारी संस्थाका व्यवस्थापक गोपाल जिसीले भने दूधमा कुनै पनि किसिमको मिसावट नगरिएको दाबी गर्नुभएको छ । उहाँले उक्त दूध तिनाउकै ‘ख्याहा’ क्षेत्रको स्रोतबाट आएको र सिङ्जालीले लैजानुभएको जानकारी दिँदै प्रोटिन बढी भएकै कारण त्यस्तो देखिएको तर्क दोहो¥याउनुभयो । सहकारीले आफ्नो बचाउ गरे पनि दूधको यस्तो असामान्य अवस्थाले यस डेरीको दुग्धजन्य पदार्थको शुद्धता माथिे प्रश्नचिन्ह खडा गरेको उपभोक्ताको भनाइ छ
।
उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएको विषय भएकाले यसबारे हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नरेश श्रेष्ठलाई बुझ्दा दूधमा अम्लिय पना बढेको समयमा यस्तो हुने बताउनुभयो । उहाँले संयोगले यस्तो भएको अवस्थामा दुध खान नमिल्ने खाइ हालेमा बिमारी पर्न सकिने बताउनुभयो । यसरी दूधमा आफै अम्लियपना बढ्नु भनेको विविध अज्ञात ब्याक्टेरिया धेरै हुनु हो । त्यसैले दूधको उचित व्यवस्थापनका लागि कोल्डचेनको व्यवस्थापनसही रुपमा गर्नुपर्ने प्रमुख श्रेष्ठको भनाइ छ ।







