पाल्पामा कांग्रेसको पुनरागमन र रास्वपाको उदय

पाल्पा । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र नम्बर १ मा ३१ वर्षपछि नेपाली कांग्रेसले विजय प्राप्त गरेको छ । यस्तैगरी क्षेत्र नम्बर २ मा राजनीतिको परम्परागत धारलाई परिर्वतन गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ ।

२०४८ सालको आम निर्वाचनमा कालुराम रानाले जितेयता पाल्पा–१ मा कांग्रेसका उम्मेदवार विजय हुन सकेका थिएनन् । २०५१ को मध्यावधिदेखि २०७९ सम्मका सबै निर्वाचनमा एमालेका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित्दै आएको यो क्षेत्रमा यसपटक कांग्रेसका युवा उम्मेदवार सन्दीप रानाले इतिहास रच्न सफल हुनुभएको हो । निर्वाचन अधिकृत दशरथ पंगेनीका अनुसार रानाले १८ हजार ३ सय ३६ मत प्राप्त गरी विजयी बन्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८ सय १९ मत पाएका छन् । रास्वपाका विमल पन्तले १४ हजार ३ सय ३३ मत ल्याएर त्रिपक्षीय प्रतिस्पर्धा रहेको थियो ।

निर्वाचित रानाको शालीन व्यक्तित्व, धार्मिक छवि र कोभिड महामारीका बेला भारतमा अलपत्र हजारौँ नेपालीलाई स्वदेश फर्काउन उहाँले नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । रामपुर–७ का स्थायी बासिन्दा ३८ वर्षीय राना राजनीतिशास्त्र र कानुनमा स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँ नेविसंघ र अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानमार्फत सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।

यस्तैगरी पाल्पा क्षेत्र नम्बर २ मा भने राजनीतिको बिलकुलै फरक र रोचक दृश्य देखियो, जहाँ रुपन्देहीको बुटवललाई कर्मथलो बनाएर होमियोप्याथी चिकित्सामा सक्रिय रहेका माधवबहादुर थापाले सानदार जित दर्ता गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिनुभएका थापाले २६ हजार ७ सय ३६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९ सय ९२ र एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५ सय ३ मत मात्र प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले बताउनुभयो ।

रिब्दीकोट–७, पालुङमैनादीको सामान्य किसान परिवारमा जन्मिनुभएका थापाले कोभिड कालमा निःशुल्क औषधि वितरण, पुराना दलप्रतिको वितृष्णा र परिवर्तनको चाहनाका कारण सहज रुपमा जित आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो । यसअघि एमाले र कांग्रेसले पालैपालो जित्दै आएको यो क्षेत्रमा नयाँ पार्टीको उदयले जिल्लाकै राजनीतिमा नयाँ अध्याय थपेको छ । पाल्पाका यी दुई क्षेत्रको परिणामले मतदाता अब पुरानो विरासत र पार्टीका उम्मेदवार भन्दा व्यक्तिको कार्यक्षमता, युवा जोस र सामाजिक सेवाको पक्षमा रहेको स्पष्ट पारेको छ । ३१ वर्षपछिको साख जोगाउने चुनौती सन्दीप रानालाई छ भने, वैकल्पिक राजनीतिको भरोसा कायम राख्दै स्वास्थ्य, शिक्षा र रोजगारीमा सुधार ल्याउने भार थापाको काँधमा आएको सरोकारवालाको भनाइ छ । करूवा पत्रिकाबाट

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय