
पाल्पा । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा रिब्दीकोट गाउँपालिकाले आयोजना गरेको पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श माध्यमिक विद्यालय, रिब्दीकोट २ देउराली प्रथम भएको छ । “सबै महिला तथा बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर“ विषयमा आयोजित प्रतियोगितामा पालिकाभित्रका १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट तर्क र प्रस्तुति पस्किँदै आदर्श माविले प्रथम स्थान हासिल गरेको हो । यस्तैगरी भैरव जनता मावि, रिब्दीकोट ४ भैरवस्थान द्वितीय र ५ नं. वडामा रहेको भवानी मावि, कुसुमखोला तृतीय भएका छन् । त्यस्तै, ३ नं. वडामा रहेको लक्ष्मी मावि, माल्मुलले सान्त्वना स्थान प्राप्त गरेको निर्णायक मण्डलका संयोजक तथा त्रिभूवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक महेन्द्र पन्थीले जानकारी दिनुभयो । विजयी विद्यालय तथा विद्यार्थीहरूलाई नगद पुरस्कार, प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले समाजको सर्वाङ्गीण विकासका लागि महिला र बालिकाको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म महिला र बालिका सशक्त हुँदैनन्, तबसम्म परिवार, समाज र राष्ट्र सशक्त बन्न सक्दैन । त्यसैले गाउँपालिकाले उनीहरूलाई शिक्षा, अवसर र निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्न प्राथमिकता दिँदै आएको छ ।“
कार्यक्रमकी अध्यक्ष एवं गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले यस्ता प्रतियोगिताले विद्यार्थीको आत्मविश्वास बढाउने र सामाजिक मुद्दामा खुलेर बोल्ने क्षमता विकास गर्ने बताउनुभयो । उहाँले युवा पुस्ताले नै समाजमा व्याप्त विभेद अन्त्य गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले विद्यालय तहबाटै महिला अधिकार र सामाजिक न्यायका विषयमा सचेतना फैलाउनु पर्नेमा जोड दिँदै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको नेतृत्व र अभिव्यक्ति क्षमतामा निखार ल्याउने बताउनुभयो ।







