दिव्य ज्योति माविका छात्राहरुलाई आत्मरक्षा तालिम

पाल्पा । महिला तथा किशोरीमाथि हुने विभिन्न प्रकारका दुव्र्यवहार, हिंसा र असुरक्षालाई मध्यनजर गर्दै माथागढी गाउँपालिका ३ नं. वडा कसेनी सराईमा रहेकोे दिव्य ज्योति माध्यमिक विद्यालयका छात्राहरुका लागि आत्मरक्षा (सेल्फ डिफेन्स) तालिम संचालन गरिएको छ । सामाजिक विकास डिभिजन कार्यालय, पाल्पाको आर्थिक सहयोगमा संचालित तालिम ४५ दिनसम्म चल्ने विद्यालयले जनाएको छ ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले विद्यालय तहदेखि नै छात्राहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउनका लागि तालिम संचालन गरिएको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा पाल्पा र गुल्मी जिल्लाका एक एक माध्यामिक विधालयमा तालिम संचालन गर्ने योजना अनुसार तालिम चलेको बताउनुभयो । ४५ दिनको सघन प्रशिक्षणले छात्राहरूमा आत्मविश्वास बढाउनुका साथै आपतकालीन अवस्थामा शत्रुलाई कसरी परास्त गर्ने भन्ने राणनीतिक कौशलको ज्ञान लिएर आफ्नो सुरक्षा आफैं गर्न सक्ने क्षमताको विकास हुने कार्यालय प्रमुख घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।

विद्यालयमा संचालित तालिमले छात्राहरूलाई आत्मनिर्भर, सचेत र सुरक्षित जीवनयापन गर्न सक्षम बनाउने विद्यालयका अध्यक्ष रेखीराम रानाले बताउनुभयो । उहाँले यसका साथै समाजमा महिला सशक्तिकरण र सुरक्षित वातावरण निर्माण गर्न समेत तालिमले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

तालिममा विद्यालयका ३० जना छात्राहरूको सहभागिता रहेको छ । सहभागी छात्राहरूलाई दैनिक जीवनमा हिँडडुल गर्दा वा सार्वजनिक स्थलमा कहीँ कतैबाट हुनसक्ने सम्भावित आक्रमण वा दुव्र्यवहारबाट कसरी जोगिने र प्रतिकार गर्ने भन्ने विषयमा प्रयोगात्मक सीप सिकाइ रहेको मुख्य प्रशिक्षक सर्मिला घर्तीमगरले बताउनुभयो । उहाँले विशेषगरी ‘सफ्ट स्किल’ र ‘फिजिकल डिफेन्स’ का विभिन्न उपायहरूमा केन्द्रित रहेर प्रशिक्षण दिइएको बताउनुभयो ।

तालिममा सहभागी छात्राहरुले सम्भावित जोखिम वा अप्ठ्यारो परिस्थितिमा आफू कसरी सुरक्षित हुने भन्ने विषयमा आधारभूत सीप सिक्केको बताएका छन् । अवस्था प्रति सचेत हुर्दै सम्भावित खतरा पहिचान गर्ने र त्यसबाट बच्ने उपायबारे जानकारी पाएको उनीहरुको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय