
पाल्पा । नेकपा एमालेका पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले निर्वाचनमा पराजित भए पनि देश र जनताको हितमा आफ्नो सेवा निरन्तर जारी रहने बताउनुभएको छ । निर्वाचन सम्पन्न भएपश्चात् पत्रकार सम्मेलन तथा धन्यवाद कार्यक्रम आयोजना गरी उहाँले चुनावी नतिजा जे–जस्तो आए पनि पाल्पाली जनताको सुख–दुःखमा आफू सधैँ साथै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एमालेका केन्दीय सदस्य समेत रहनुभएका गैरेले आफू सधै पाल्पाली जनताको सेवा र पाल्पाको समृद्धि र विकासमा लागि पर्ने बताउनुभयो । उहाँले निर्वाचनका क्रममा अहोरात्र खट्ने पार्टीका विभिन्न कमिटी, नेता, कार्यकर्ता, शुभेच्छुक, सञ्चारकर्मी र अमूल्य मत प्रदान गर्ने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । “निर्वाचनमा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति म ऋणी छु,“ उहाँले भन्नुभयो, “हार–जित लोकतान्त्रिक प्रक्रियाको एउटा पाटो मात्र हो, तर जनतासँगको मेरो सम्बन्ध चुनावी परिणामले निर्धारण गर्दैन ।“
राष्ट्रियता, लोकतन्त्रको रक्षा, विकास र समृद्धिको नेतृत्व गर्ने मुख्य शक्ति नेकपा एमाले नै रहेको र अन्इ कुनै पार्टी नरहेको दाबी गर्दै नेता गैरेले अहिलेको निर्वाचनमा एमाले पराजित भए पनि कमजोर नभएको स्पष्ट पार्नुभयो । “एमाले पराजित भएको हो, सकिएको होइन,“ उहाँले थप्नुभयो, “हामी फेरि उठ्नेछौँ । राष्ट्रियताको रक्षासहित समृद्धि र विकासको नेतृत्व गर्दै जनता सामु पुग्नेछौँ ।“
कार्यक्रममा नेता गैरेले पार्टीलाई आन्तरिक रुपमा सुधार गदै सबैले चाहेजस्तो बनाउने र पार्टीले अघि सारेको समृद्धिको खाका र देश विकासको एजेन्डाबाट विचलित नभई अझ सशक्त रूपमा अगाडि बढाइने बताउनुभयो ।







