
पाल्पा । नेकपा (एमाले) पाल्पा जिल्ला कमिटीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामलाई लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप आत्मसाथ गर्ने जनाएको छ । फागुन २१ गते सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै एमालेले एक विज्ञप्ति जारी गर्दै जनमतको सम्मान गर्ने जनाएको हो ।
एमाले जिल्ला अध्यक्ष ओमबहादुर घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा निर्वाचनमा विजयी हुनुभएका क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप राना र क्षेत्र नं. २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवबहादुर थापालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको छ । एमालेले यसपटक क्षेत्र नं. १ मा नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुरप्रसाद प्रसाद गैरेलाई उम्मेदवार बनाएको थियो ।
विज्ञप्तिमा निर्वाचनका दौरान देशी–विदेशी शक्तिहरू एमाले विरुद्ध उभिएको र सुनियोजित अफवाह फैलाइएको दाबी गरिएको छ । “प्रतिकूल परिस्थितिमा फैलिएका भ्रमलाई समयमै चिर्न नसक्दा जिल्लामा अपेक्षाकृत परिणाम आउन सकेन,“ विज्ञप्तिमा उल्लेख छ । हार र जितलाई लोकतन्त्रको स्वाभाविक प्रक्रिया र आवधिक जनमतका रूपमा लिँदै एमालेले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई विचलित नभई उच्च मनोबलका साथ अगाडि बढ्न आग्रहसमेत गरेको छ ।
प्रतिकूलताका बावजुद पार्टी र सूर्यध्वजावाहक उम्मेदवारका पक्षमा अहोरात्र खट्ने सम्पूर्ण कार्यकर्ता, शुभेच्छुक र मतदाताप्रति एमालेले आभार प्रकट गरेको छ । साथै, निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने निर्वाचन आयोग, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी र सञ्चार जगतलाई पनि धन्यवाद ज्ञापन गरिएको छ । एमालेले आगामी दिनमा पनि पाल्पाको विकास, समृद्धि, राष्ट्रिय स्वाधीनता र न्यायको पक्षमा आफ्नो यात्रा निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत जनाएको छ ।
विज्ञप्तीको विवरण हेर्नुहोस्








