
पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा प्राप्त ऐतिहासिक जितका लागि मतदातालाई धन्यवाद व्यक्त गर्न तानसेनमा पत्रकार सम्मेलन तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य माधवबहादुर थापाले पाल्पाली जनताले आफूमाथि गरेको भरोसालाई विकास र सुशासनको माध्यमबाट पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “यो जित मेरो मात्र नभई परिवर्तन चाहने सम्पूर्ण पाल्पावासीको साझा जित हो । निर्वाचनका दौरान मैले जनताका आँगनमा गरेका बाचाहरूलाई भुल्ने छैन ।“
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य थापाले पाल्पा क्षेत्र नं. २ बाट २६ हजार ७३६ मत प्राप्त गरी विजयी बनाउन भूमिका खेल्ने पार्टीका नेता कार्यकर्ता, लुकेर मत दिने विभिन्न अन्य दलका नेता कार्यक्रर्ता, पत्रकार तथा सञ्चारकर्मीका साथै देश र विदेशमा रहनुभएका परिर्वतनको चाहना राखेर निर्वाचनमा सहयोग पु¥याउने सम्पूर्ण मतदाता र शुभेच्छुकहरूलाई धन्यवाद व्यक्तसमेत गर्नुभयो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति विष्णु भण्डारीले पार्टीको विचार र एजेन्डालाई जनतासम्म पु¥याउन सञ्चार माध्यमले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले जिल्लामा रास्वपाले नयाँ राजनीतिक संस्कारको सुरुवात गरेको बताउँदै आगामी दिनमा पार्टीले जनसेवालाई ध्यानमा राखेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा पार्टी उपसभापति सुमन गैरेले निर्वाचनको चुनौतीपूर्ण समयमा कुशल व्यवस्थापन र कार्यकर्ताको अथक मेहनतका कारण सफलता प्राप्त भएको बताउनुभयो । उहाँले जनताको मतको कदर गर्दै पार्टीले सधैं उत्तरदायी भएर काम गर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले नवनिर्वाचित सांसद थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सञ्चार क्षेत्रका समस्याप्रति ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पाल्पाको विकासका लागि सञ्चार जगत सधैं रचनात्मक सहकार्य गर्न तयार छ, तर निर्वाचित जनप्रतिनिधिले प्रेस स्वतन्त्रता र सूचनाको हकको संरक्षणमा पनि विशेष चासो देखाउनुपर्छ ।“







