कृषि, शिक्षा र पूर्वाधारमा आमूल परिवर्तन गछौं : गैरे

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसारको समय सीमा सकिनै लाग्दा नेकपा (एमाले) का उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पा क्षेत्र नम्बर २ को समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनको मतदानका लागि तयारीमा रहनुभएका मतदातालाई उहाँले यस्तो कुरा बताउनुभएको हो ।

उम्मेदवार गैरेले कृषि, शिक्षा र पूर्वाधारमा आमूल परिवर्तन आफ्नो पहिलो प्रतिबद्धता रहेको बताउनुभयो । यसका साथै सुशासन नारा मात्र नभै कार्यशैली बनाउने बताउदै उहाँले स्थानीय पूर्वाधार विकास, आर्थिक विकासमा ध्यान दिने बताउनुभयो । उम्मेदवार गैरेले कृषि क्षेत्रमा आमूल रूपान्तरण ल्याई किसानको जीवनस्तर उकास्ने, उद्योग र व्यापारलाई अर्थतन्त्रको मेरुदण्ड बनाउने र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गरी स्वरोजगार सिर्जना गर्ने कुरालाई उहाँले विशेष जोड दिनुभएको छ ।

शिक्षा, स्वास्थ्य, सीप र खेलकूद र पर्यटन क्षेत्रको केन्द्रका रूपमा पाल्पालाई विकास गर्ने संकल्प गर्दै गैरेले युवाहरूका लागि सुरक्षित र रोजगारीमुखी वातावरण निर्माण गर्ने बाचा गर्नुभयो । निर्वाचनको अन्तिम समयमा मतदाताको घरदैलोमा पुग्ने क्रममा उहाँले आज तानसेन नगरपालिका वडा नं. ९ दमकडा र वडा नं. ११ को सम्मोबारी क्षेत्रका मतदातासँग भेटघाट गरी आशिर्वाद समेत ग्रहण गर्नुभएको छ ।

प्रचारको समय सकिनै लाग्दा उहाँले पाल्पा–२ का सम्पूर्ण मतदाताहरूलाई सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गर्नुभएको छ । पाल्पाको विकासमा एमाले सधैँ तत्पर रहेको उल्लेख गर्दै उहाँले यहाँको पूर्वाधार विकासमा कहिल्यै सम्झौता नगर्ने दृढता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय