निर्वाचनमा पाल्पाका २२ सय बढी कर्मचारी र स्वयंमसेवक खटिए

पाल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा २२ सय बढी कर्मचारी र स्वयंसेवक खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गर्नका लागि एक हजार पाँच सय १४ कर्मचारी र सात सय ४७ स्वयंसेवक गरी दुई हजार दुई सय ६३ जना कर्मचारी र स्वयंसेवक परिचालन हुने भएका हुन् ।

दुई निर्वाचन क्षेत्र रहेको पाल्पाका स्थायी २ सय ५१ र दुई अस्थायी गरी २ सय ५३ मतदान केन्द्र कायम गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ५२ मतदानस्थलमा एक सय १७ मतदान केन्द्र छन् । जसमा एक हजार ४८ कर्मचारी र स्वयंसेवक रहने छन् । यस्तैगरी निर्वाचन क्षेत्र नम्बर २ मा ६६ मतदानस्थलमा एक सय ३६( २ अस्थायीसमेत) मतदान केन्द्रमा एक हजार दुई सय १५ जना कर्मचारी र स्वयंसेवक खटिने निर्वाचन कार्यालय पाल्पाका लेखापाल विनोद घिमिरेले जानकारी दिनुभयो ।

प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी तीन र एक जना सहयोगी गरी छ जना कर्मचारी खटिएका छन् । निर्वाचनका कर्मचारीसहित प्रत्येक मतदान केन्दमा ५ सय भन्दा कम मतदाता रहेकामा दुई जना र ५ सय बढी मतदाता भएको केन्द्रमा तीन जना स्वयंसेवक परिचालन हुनेछन् । स्वयंसेवक मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत केशव पराजुलीले बताउनुभयो । उहाँका अनुसार अस्थायी मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एक जना सहयोगी कर्मचारी र दुई जना स्वयंसेवक रहने बताउनुभयो । निर्वाचनमा खटिएका कर्मचारीहरु सोमबारसम्म केन्द्रमा पुरेर तयारी थाल्नुपर्ने छ ।

पाल्पामा दुई अस्थायी मतदान केन्द्र रहेको छ । जसमा एक हजार ९ सय २३ मतदाता रहेका छन् । तानसेनको जिल्ला कारागारमा कैदीबन्दी साथै अन्य कर्मचारी र सुरक्षाकर्मीका लागि अस्थायी मतदानस्थल तय गरिएको हो । तानसेनमा रहेको दी फेमस महेन्द्र दल गण र कारागारमा अस्थायी मतदान स्थल तोकिएको छ । दुईवटा अस्थायी मतदान केन्द्र अन्तर्गत ६९ जना कारागारमा र १ हजार ८ सय ५४ जना महिन्द्र दल गणअन्तर्गत मतदानस्थलमा मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी शर्माले बताउनुभयो ।

त्यसैगरी निर्वाचनलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्था कडाइ गरिएको छ । निर्वाचनसँगै चुनाव प्रचारप्रसारका क्रममा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षाकर्मी परिचालनसंगै मोबाइल गस्ती बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रसाद चौधरीले जानकारी दिनुभयो । उहाँले जिल्लामा निर्वाचन सुरक्षाका लागि मतदान केन्द्रमा सात सय बढी सुरक्षाकर्मी परिचालन हुने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय