
पाल्पा । नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले नेकपा एमालेको सरकार हुँदा सधै जनपक्षीय काम गरेको दावी गर्नुभएको छ । उहाँले देशको समग्र विकास र समृद्धिका लागि एमाले पार्टी सधै अग्रभागमा रहेको बताउनुभयो । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित चुनाव प्रचारप्रसारको घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी गाउँपालिका वडा नं. १, चिदीपानी पुग्नुभएका नेता गैरेले मतदाताहरूसँगको भेटघाटमा चिदीपानीको समग्र विकासमा आफू लाग्ने बताउनुभएको छ ।
मतदाताहरूलाई सम्बोधन गर्दै गैरेले चिदीपानी क्षेत्रको कृषि र यातायातलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “चिदीपानीको फाँट क्षेत्रमा सिंचाइ सुविधा पु¥याउन र सडक तथा पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा कामहरू भइरहेका छन्,” उहाँले भन्नुभयो, “यी आयोजनाहरूलाई पूर्णता दिन नेकपा एमालेको जित आवश्यक छ ।”
शिक्षा क्षेत्रको विकासबारे बोल्दै उम्मेदवार गैरेले चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना सुनाउनुभयो । उहाँका अनुसार संघीय सरकारको सहयोगमा यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र प्राविधिक धारका कक्षाहरू सञ्चालन गर्न विशेष पहल भइरहेको छ । माथागढीका नागरिकहरूले सधै नेकपा एमालेको विचार र सिद्धान्तलाई साथ दिँदै आएको स्मरण गर्दै उहाँले एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको दाबी गर्नुभयो । स्थानीय मतदाताले पनि एमालेले अघि सारेका विकासका योजनाहरूप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए । उम्मेदवार गैरेले घरदैलो अभियानलाई तीव्र पार्दै आगामी निर्वाचनमा सूर्य चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह समेत गर्नुभएको छ ।








