
पाल्पा । नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले आफ्नो क्षेत्रको अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन र समृद्धिको लक्ष्य भेट्न एमालेको विजय अनिवार्य रहेको बताउनुभएको छ ।
फागुन २१ गते हुने निर्वाचनका लागि मत र आर्शीवाद लिन रम्भा र रामपुर क्षेत्रका मतदाता समक्ष पुग्नुभएका उहाँले एमाले र आफूले जित्दा समग्र देश र यस क्षेत्रका जनताको जित हुने दाबी गर्नुभयो ।
घरदैलो र चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिनुभएका उम्मेदवार आचार्यले मुख्य गरी शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई आफ्नो प्राथमिकताको सूचीमा राखेर काम गर्दै आएको र आगमाी दिनमा पनि आवश्यकताका आधारमा कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
उहाँले प्रत्येक पालिकामा कम्तीमा एक–एक वटा ’नमुना विद्यालय’ स्थापना गर्ने, सहिद बहुमुखी क्याम्पस रामपुरलाई नेतृत्वदायी शैक्षिक संस्था बनाउने र प्राविधिक शिक्षामा जोड दिने योजना अघि सार्नुभएको छ । यस्तै, स्वास्थ्य क्षेत्रमा रामपुर अस्पताललाई ’ट्रमा सेन्टर’ सहित स्तरोन्नति गर्ने र निस्दी, पूर्वखोला, रम्भा र माथागढीमा निर्माणाधीन १५ शय्याका अस्पतालहरूलाई तत्काल सञ्चालनमा ल्याई स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने संकल्प गरेको उम्मेदवार आचार्यले बताउनुभयो ।
यस्तै सडक पूर्वाधार विकासका लागि कालीगण्डकी करिडोरको बाँकी कामलाई तीव्रता दिने, आर्यभन्ज्याङ–रामपुर सडकको स्तरोन्नति गर्ने र बाँसटारी–झडेवा–दुम्कीवास वैकल्पिक सडक निर्माणलाई पूर्णता दिनका लागि निरन्तर रुपमा सहजीबरण गर्ने उम्मेदवार आचार्यले बताउनुभयो । “विगतमा जस्तै तीन तहकै सरकारसँग समन्वय गरेर हामी यस क्षेत्रका हरेक वडा केन्द्र जोड्ने सडकहरूको स्तरोन्नति गर्नेछौँ,“ उहाँले भन्नुभयो ।
आफ्नो निर्वाचन क्षेत्रका मतदाताले नेकपा एमाले र उम्मेदवारलाई विगत लामो समयदेखि भरोसा गरे अनुसार क्रमिक रुपमा क्षेत्रको विकासमा पार्टी र जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेलेको बताउदै उम्मेदवार आचार्यले आफूलाई मतदाताले साझा उम्मेदवारका विजयी बनाउने विश्वास व्यक्त गर्नुभयो । विजयी भएपछि अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका जायज प्रतिबद्धतालाई समेत एमालेले ग्रहण गरेर कार्यान्वयन गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । “म यस क्षेत्रको भूगोल र जनताका समस्यासँग भिजेको मान्छे हुँ, त्यसैले विगतमा झैँ यस पटक पनि सूर्य चिह्नमा मतदान गरी एमालेलाई विजयी बनाउन म विनम्र अनुरोध गर्दछु,“ उहाँले थप्नुभयो ।
जनताको दुखसुखमा सधैँ साथ रहेको र विगतको भन्दा फराकिलो मतान्तरले विजयी हुने दाबी गर्दै उम्मेदवार आचार्यले एमालेको नेतृत्वमा मात्र ’समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य पूरा हुने कुरामा जोड दिनुभयो ।








