सुशासन, आधुनिक कृषि र पर्यटन नै समृद्धिको आधारः उम्मेदवार आचार्य

पाल्पा । नेकपा (एमाले) का तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले सुशासन, कृषिको आधुनिकीकरण र पर्यटन प्रवद्र्धनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउनुभएको छ । उहाँले आफ्ना एजेन्डा पूरा गर्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू र आफ्नो पार्टी नेकपा एमालेले जित्नुपर्ने समेत बताउनुभएको छ ।

निर्वाचनको मिति नजिकिएसंग चुवानी प्रचार प्रसार अभियानलाई तीव्रता दिनुभएका आचार्यले मदनपोखार, रम्भा र रामपुरका क्षेत्रका मतदतासंग भेटघाटका क्रममा यस्ताे बताउनुभएको हो । यसका साथै उहाँले ४४ औं मगर एकता दिवसको अवसरमा मगर समुदायलाई शुभकामना समेत व्यक्त गर्नुभएकाे छ ।

उम्मेदवार आचार्यले सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी र जवाफदेही बनाउँदै सुशासन कायम गर्ने बताउदै आगामी दिनमा निर्वाचन क्षेत्रका नागरिकसँग प्रत्यक्ष संवाद गर्न ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रममार्फत जनगुनासो सम्बोधन गर्ने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचारमुक्त र जनउत्तरदायी प्रशासन नै हाम्रो संकल्प हो।“

यस्तै आफ्नो निर्वाचन क्षेत्रको कृषि क्षेत्रको विकासका लागि उम्मेदवार आचार्यले ’व्यवसायमुखी कृषि’ मा जोड दिइने बताउनुभयो । कालीगण्डकी लिफ्ट सिँचाइ र विभिन्न स्थानमा ड्याम निर्माण गरी सिँचाइ सुविधा पु¥याउने उहाँको योजना छ । अदुवा, सुन्तला, अम्रिसो र बेमौसमी तरकारीको बजार व्यवस्थापनका लागि ‘हाटबजार र थोक बजार केन्द्र’ निर्माण गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । साथै, युवाहरूलाई कृषिमा आकर्षित गर्न बीउ पुँजी र सहुलियत ऋणको व्यवस्था गरी स्वरोजगारी सिर्जना गर्ने नीति लिइएको उम्मेदवार आचार्यको भनाइ छ ।

पर्यटन क्षेत्रको विकासका लागि सम्भावना अनुसार काउलेडाँडा, जल्पा चुलीडाँडा र मदनपोखरा जस्ता क्षेत्रलाई ’हिल स्टेसन’ का रूपमा विकास गर्ने उम्मेदवार आचार्यको योजना छ । उहाँले होमस्टे प्रवद्र्धन र आदिवासी जनजातिको पहिचान झल्किने संग्रहालय निर्माण गरी पर्यटनमार्फत स्थानीयको आयआर्जन बढाउन संघ केन्द्र र स्थानीय सरकारसंगको सहकार्यमा काम गर्ने बताउनुभयो ।

२०५१ सालदेखि एमालेको गढ रहेको यस क्षेत्रमा आफू जनताको सुखदुःखमा सधैँ साथै रहेकाले यसपटक पनि भारी मतले विजयी हुने उहाँले दाबी गर्नुभयो । अघिल्लो निर्वाचनमा गठबन्धन हुँदा समेत ११ हजारको मतान्तरले जितेको स्मरण गर्दै आचार्यले यसपटक झन् बढी जनमत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । विजयी भएपछि अन्य दल र स्वतन्त्र उम्मेदवारको सकारात्मक एजेन्डाहरूलाई समेत अपनत्व ग्रहण गरी आफूले साझा उम्मेदवारका रूपमा विकास र समृद्धिकोलागि काम गर्ने निर्वतमान सांसदसमेत रहनुभएका आचार्यले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय