
पाल्पा । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ पाल्पाको संयोजनमा ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा सञ्चारकर्मीहरूलाई आचारसंहिताप्रति सचेत गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य केशवशरण लामिछानेले पत्रकार तथा निर्वाचन आचारसंहिता, मिडियाले खेल्नुपर्ने भूमिका र उल्लङ्घनका घटनामा हुने कारबाहीबारेमा आफ्नो प्रस्तुति राख्नुभएको थियो । उहाँले छापा, अनलाइन, रेडियो र टेलिभिजनले तोकिएको मापदण्डभित्र रहेर सामग्री प्रकाशन,प्रसारण गर्नुपर्नेमा जोड दिँदै पत्रकारहरूको व्यक्तिगत फेसबुक पेज र सामाजिक सञ्जालमा गरिने पोस्टहरूमा समेत आचारसंहिता आकर्षित हुने स्मरण गराउनुभयो ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन पत्रकारहरूको भूमिका सेतुको रूपमा रहने बताउनुभयो । उहाँले मतदाता शिक्षादेखि उम्मेदवारलाई आचारसंहिता पालना गराउन सचेत गराउनेसम्मका कार्यमा पाल्पाली पत्रकारहरूको भूमिका सकारात्मक रहेको चर्चा गर्नुभयो । निर्वाचनको तयारीदेखि मतदान हुनुअघि र मतगणना सम्पन्न नहुञ्जेलसम्म पूर्ण व्यावसायिकता र आचारसंहिता प्रदर्शन गर्न पाल्पाली पत्रकार तथा सञ्चारकर्मीहरूलाई मुख्य निर्वाचन अधिकृत शर्माले आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले निर्वाचनसँग जोडिएका सबै पक्ष मतदाता, उम्मेदवार, राजनीतिक दल, सुरक्षाकर्मी र कर्मचारीले आ–आफ्नो जिम्मेवारी र आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लाको शान्ति सुरक्षा र निर्वाचन तयारीमा मिडिया क्षेत्रबाट प्राप्त सहयोगको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ऋषिराम सुवेदीले जिल्लामा हालसम्म आचारसंहिता उल्लङ्घनको एउटा मात्र लिखित उजुरी परेको र त्यसको तत्काल समाधान गरिएको जानकारी दिनुभयो । साथै मौखिक रुपमा आएका उजुरीलाई पनि सहज रुपमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाका पत्रकारहरूले आचारसंहिताको पूर्ण पालना गरिरहेको र यसलाई निर्वाचनको अन्त्यसम्मै कायम राख्ने प्रतिबद्धता जनाउनुभयो । अन्तरक्रियाका सहभागी पत्रकारहरूले प्रेस काउन्सिलको अनुगमन प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने र सबै प्रकृतिका सञ्चारमाध्यमलाई समान व्यवहार गरिनुपर्नेलगायतका सुझाव दिएका थिए ।
प्रेस काउन्सिलका बोर्ड सदस्य विजयराज अधिकारीको अध्यक्षता, अर्का सदस्य भीमलाल श्रेष्ठको स्वागत तथा नेपाल पत्रकार महासंघका सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा अन्तरक्रिया कार्यक्रम भएको हो ।








