
तानसेन। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले आफू भारी मतान्तरले विजयी हुने दाबी गर्नुभएको छ । निर्वाचनको मिति नजिकिएसँगै घरदैलो अभियानमा व्यस्त रहनुभएका पाण्डेयले मतदाताहरू अनुभवी र विकासप्रेमी नेतृत्वको पक्षमा रहेको बताउनुभयो ।
तानसेन र बगनासकालीका विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गर्दै पूर्वमन्त्री समेत रहनुभएका पाण्डेयले पाल्पाको विकास र समृद्धिको खाका आफैँले कोरेको दाबी गर्नुभयो। “पाल्पामा आधारभूत विकासका योजनाहरू सुरु भइसकेका छन्, अब ती योजनाको सुनिश्चितता गर्दै आर्थिक समृद्धितर्फ अघि बढ्न मतदाताहरू मलाई निर्वाचित गराउन आतुर हुनुहुन्छ,” उहाँले भन्नुभयो ।
नेता पाण्डेयले युवा जनशक्तिलाई गाउँमै टिकाउन कृषि र उद्यमशीलताको विकास गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो । घरदैलोका क्रममा जनस्तरबाट प्राप्त भएको उत्साह र हौसलाले आफूलाई थप ऊर्जा प्रदान गरेको उहाँको भनाइ थियो। उहाँले थप्नुभयो, “अधुरा काम पूरा गर्न र पाल्पालाई समृद्ध बनाउन यसपटक पनि जनताले मेरो अनुभव र कार्यक्षमतालाई नै विश्वास गर्नेछन्।”








