
पाल्पा । नेपाली कांग्रेसका पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमालदत्त श्रेष्ठले तानसेनको पुरानो पहिचानलाई पुनर्जीवित गर्दै स्वास्थ्य, शिक्षा र पर्यटनको एकीकृत विकास नै यस क्षेत्रको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिदै गर्दा घरदैलो अभियानमा व्यस्त उहाँले पश्चिमाञ्चलकै शैक्षिक ’हब’ र भरपर्दो स्वास्थ्य उपचारको गन्तव्यका रूपमा रहेको तानसेनको ऐतिहासिक गरिमालाई थप उचाइमा पु¥याउने आफ्नो मुख्य एजेन्डा रहेको स्पष्ट पार्नुभयो ।
तानसेन नगरपालिकाका विभिन्न वडाका मतदाताहरुको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका क्रममा उम्मेदवार श्रेष्ठले “तानसेनमा रहेका त्रिभुवन बहुमुखी क्याम्पस, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालको दीर्घकालीन र योजनाबद्ध विकासले मात्रै सिंगो पाल्पाको आर्थिक र सामाजिक विकासमा टेवा पुग्छ,“ श्रेष्ठले भन्नुभयो, “यी संस्थाहरूको स्तरोन्नति र सुदृढीकरण मेरो प्राथमिकतामा रहनेछ।“
’पहाडकी रानी’ उपनामले चिनिने तानसेनमा पर्यटनको अथाह सम्भावना रहेको चर्चा गर्दै उहाँले संघीय सरकारले पर्यटनमैत्री नीति निर्माण गर्ने र स्थानीय सरकारले त्यसको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। “सांसदको मुख्य काम नीति निर्माण गर्ने हो, तर विकासमा बाधक रहेका पुराना कानुनहरू परिवर्तन गरी छिटो र प्रभावकारी विकास सुनिश्चित गर्ने प्रतिबद्धता म व्यक्त गर्दछु,“ उहाँले मतदातासामु भन्नुभयो । घरदैलोका क्रममा मतदाताहरूले उम्मेदवारसँग आफ्ना स्थानीय समस्याहरू राख्दै विकासको ग्यारेन्टी खोजेका खोज्ने गरेका छन् ।








