
पाल्पा । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
“समृद्ध नेपाल, सुखी नेपाली” राष्ट्रिय आकांक्षालाई मूर्त रूप दिने लक्ष्यसहित सार्वजनिक दस्तावेजमा भौतिक पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुदृढीकरण, कृषि आधुनिकीकरण, रोजगारी प्रवद्र्धन तथा सुशासनलाई प्राथमिकतामा राखिएको छ ।
पत्रकार सम्मेलन मार्फत माथागढी ३ कसेनी, सराईमा सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा सडक पूर्वाधारतर्फ कालीगण्डकी करिडोर द्रुतगतिमा सम्पन्न गरी राष्ट्रिय राजमार्गसँग जोड्ने, आर्यभञ्ज्याङ–रामपुर सडक स्तरोन्नति, भिमाद–रामपुर–बेलडाँडा–मित्याल–अरुणखोला सडक सुधार, चुरे क्षेत्रका विभिन्न बस्ती जोड्ने हरियाली सडक निर्माण तथा सबै वडाकेन्द्र जोड्ने पहुँचमार्ग स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । साथै वैकल्पिक सडक, रणनीतिक सडक र अन्तरजिल्ला पहुँचमार्ग विस्तारलाई समेत प्राथमिकतामा राखिएको छ ।
शिक्षातर्फ पालिका स्तरमा नमूना विद्यालय स्थापना, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, प्रविधिमैत्री शिक्षण प्रणाली विकास र प्राविधिक तथा व्यावसायिक शिक्षा विस्तार गर्ने उल्लेख छ । रामपुरस्थित क्याम्पसहरूलाई गुणस्तरीय र अनुसन्धानमुखी शिक्षाको केन्द्रका रूपमा विकास गर्ने, मगर मातृभाषामा पठनपाठन सुरु गर्ने प्रतिबद्धता जनाइएको छ ।
स्वास्थ्य क्षेत्रमा रामपुर अस्पताललाई ट्रमा सेन्टरसहित विशेषज्ञ सेवा दिने, स्वास्थ्य बीमालाई व्यवस्थित गर्दै गुणस्तरीय र सर्वसुलभ सेवा प्रवाहमा जोड दिइने उम्मेदवार आचार्यको भनाइ छ ।
उहाँले “एक घर–एक धारा” कार्यक्रममार्फत स्वच्छ पानी, ठूला आयोजना समयमै सम्पन्न गर्ने, विद्युत तथा सञ्चारमा ग्रामीण क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, काठे पोल विस्थापन र इन्टरनेट पहुँच वृद्धि गर्ने लक्ष्य लिइएको बताउनुभयो ।
आवश्यकता अनुसार विभिन्न फाँटमा लिफ्ट तथा सतह सिंचाइ विस्तार, वर्षातको पानी संकलन पोखरी निर्माण, जलाशयमार्फत सिंचाइ र जलयात्रा प्रवद्र्धन गर्ने सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा उल्लेख छ । कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै बजार सुनिश्चितता र हाटबजार तथा थोक केन्द्र निर्माण गर्ने योजना अघि सारिएको छ ।
काउलेडाँडा, जल्पा चुलीडाँडा, रम्भापानी, हात्तीलेक लगायत क्षेत्रलाई पूर्वाधारसहित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, युवालाई उद्यमशीलतामा जोड्दै सहुलियत ऋण र बीउपूँजी उपलब्ध गराउने उम्मेदवार आचार्यको भनाइ छ । यस्तैगरी भूमि व्यवस्थापन, वन संरक्षण, वृक्षारोपण, डढेलो नियन्त्रण र सुकुम्बासी समस्या समाधानलाई पनि प्राथमिकता दिइने उहाँले बताउनुभयो ।
सुशासनका लागि डिजिटल, पारदर्शी र जनउत्तरदायी सेवा प्रवाह, जनसहभागितामूलक योजना छनोट, नियमित जनसंवाद तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने अठोट गरिएको उम्मेदवार आचार्यले बताउनुभयो ।







