
पाल्पा । नेपाली कांग्रेस पाल्पाले घोषणा–पत्र २०८१ सार्वजनिक गर्दै सुशासन, राजनीतिक स्थिरता र रूपान्तरणमुखी विकासलाई मुख्य एजेन्डा बनाएको छ । तानसेनको सितलपाटीमा प्रतिनिधिसभा सदस्य उम्मेदवार हिमालदत्त श्रेष्ठले सार्वजनिक गरेको घोषणा–पत्रमा विशेष महाधिवेशनबाट गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय, युवामुखी नेतृत्व हस्तान्तरण र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति उल्लेख छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये १०७ क्षेत्रमा नयाँ युवालाई उम्मेदवार बनाइएको र पाल्पा क्षेत्र नं. १ मा सन्दीप राना तथा क्षेत्र नं. २ मा हिमालदत्त श्रेष्ठ उम्मेदवार रहेको जनाइएको छ ।
घोषणा–पत्रमा निर्वाचन प्रणाली र शासकीय स्वरूपमा सुधार गरी स्थिर बहुमत सरकार निर्माण गर्न पहल गर्ने, संघ–प्रदेश–स्थानीय तहसँग समन्वय गरी बजेट व्यवस्थापन सहजीकरण गर्ने प्रतिबद्धता उल्लेख छ । शिक्षा क्षेत्रमा गुणस्तरीय, प्रविधिमैत्री र जीवनोपयोगी शिक्षामा जोड दिँदै त्रिभुवन बहुमुखी क्याम्पस र रामपुर क्याम्पस स्तरोन्नति, प्रत्येक पालिकामा नमुना विद्यालय स्थापना र शिक्षा ऐन जारी गर्न पहल गरिने जनाइएको उम्मेदवार श्रेष्ठले बताउनुभयो । स्वास्थ्यतर्फ पाल्पा अस्पताल लाई १०० शय्या विस्तार, रामपुर अस्पताललाई ट्रमा सेन्टर, प्रत्येक पालिकामा १५ शय्याको अस्पताल, निःशुल्क उपचार, बीमा प्रक्रिया सरलीकरण, डायलोसिस सेवा विस्तार तथा निःशुल्क एम्बुलेन्स व्यवस्था गरिने योजना कांग्रेस पाल्पाको रहेको उहाँले बताउनुभयो ।
पर्यटन प्रवद्र्धनअन्तर्गत रानी महल लगायत ऐतिहासिक तथा धार्मिक स्थल संरक्षण, जलपरिवहन सम्भाव्यता अध्ययन, सांस्कृतिक पर्व–जात्रा संरक्षण र संग्रहालय व्यवस्थापन गरिने जनाइएको छ । कृषि क्षेत्रमा एक वडा–एक उत्पादन, जैविक खेती, पशुपालन, शीतभण्डार, सिँचाइ सुधार र अनिवार्य कृषि बीमामा जोड दिइएको छ। भौतिक पूर्वाधारअन्तर्गत सिद्धार्थ राजमार्ग स्तरोन्नति, भित्री सडक सुधार, ‘एक घर–एक धारा’, विद्युत विस्तार, वन संरक्षण र विपद् व्यवस्थापन योजना अघि सारिएको छ। साथै दलित, आदिवासी जनजाति, महिला, युवा, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि सामाजिक सुरक्षा, स्वरोजगार, खेलकुद पूर्वाधार विकास, नागरिक गुनासा संसदसम्म पु¥याउने व्यवस्था र भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरिने सार्वजनिक गरिएको घोषणा पत्रमा उल्लेख छ । कार्यक्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहसहित अन्य नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।








