एमालेका आचार्य विकासको मियो बन्ने संकल्पसहित मैदानमा

पाल्पा । संसदीय राजनीतिमा सालिन र विकासप्रेमी नेताको पहिचान बनाएका नारायण प्रसाद आचार्य यतिबेला पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि ’सूर्य’ ध्वजावाहक उम्मेदवारका रूपमा चुनावी मैदानमा हुनुहुन्छ ।

२०७४ मा प्रदेश सभा सदस्यका रूपमा सफल कार्यकाल बिताउनुभएका आचार्यको यसपटकको उम्मेदवारी केवल पदका लागि मात्र नभई, पाल्पाको अधुरा विकासलाई पूर्णता दिने र जनताको सेवा गर्ने अटुट इच्छाशक्तिको उपज हो । २०५१ सालमा ’आफ्नो गाउँ आफै बनाऔं’ अभियानअन्तर्गत हुमिन–रिङनेरह–ज्यामिरे मोटरबाटो उपभोक्ता समितिको अध्यक्ष बनेर जनविश्वास जित्नुभएका आचार्यलाई स्थानीय साहित्यकार नीलकण्ठ न्यौपाने नैतिकवान्, क्षमतावान् र सिर्जनशील ढंगले समस्या समाधान गर्न सक्ने खुबी भएको नेताका रूपमा चित्रण गर्नुहुन्छ ।

उम्मेदवार आचार्यका चुनावी एजेण्डामा पाल्पाको आर्थिक मेरुदण्डका रूपमा रहेका कृषि, पर्यटन, खानी र वनजन्य क्षेत्रको योजनाबद्ध विकास प्राथमिकतामा छन् । उहाँले गाउँ–गाउँका कच्ची सडकको स्तरोन्नति, अधुरा खानेपानी योजना सम्पन्न, र रामपुर, निस्दी, रम्भापानी एवं माथागढी, पूर्वखोलालगायतका क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रमा तीव्र पूर्वाधार निर्माणलाई मुख्य कार्यभार बनाउनुभएको छ । त्यस्तै, नियमित विद्युतीकरण, कृषिको व्यावसायीकरण र यान्त्रिकीकरणमार्फत युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उहाँको योजना छ । स्वास्थ्यका लागि खेलकुदको महत्व बुझ्दै सराई, रामपुर, जल्पा, अर्सेदी र ताहुँ नाचनडाँडा खेलमैदानलाई व्यवस्थित गर्ने संकल्प पनि उम्मेदवार आचार्यले अघि सार्नुभएको छ ।

बस्ती विकास र नदी नियन्त्रणलाई अर्को महत्वपूर्ण एजेण्डा बनाउनुभएका आचार्यले तिनाउ, झडेवा, पूर्वाखोला र निस्दी खोलाको कटान रोक्न व्यवस्थित तटबन्ध गर्ने प्रतिबद्धता जनाउनुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई आफ्नै माटोमा उद्यमी बनाउन मासु, दूध र तरकारीजन्य उत्पादनको बजारीकरण गर्ने उहाँको योजनाले मतदातामा उत्साह थपेको छ । “प्रविधिको विकास र उद्यमशीलताले नै देशलाई आत्मनिर्भर बनाउछ,“ उम्मेदवार आचार्य भन्नुहुन्छ, “नेकपा एमालेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारालाई साकार पार्न र पाल्पाली जनताको जीवनस्तर सुधार्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय