
पाल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले आफ्नो निर्वाचनको संकल्प पत्र सार्वजनिक गर्नुभएको छ । बुधबार रम्भा १ हुँगीमा पत्रकार भेटघाट गरी “लोकतन्त्रबाट लोकनिर्माण”को मूल नारासहित समग्र विकासको संकल्प पत्र सार्वजनिक गर्नुभएको हो ।
उम्मेदवार रानाले सार्वजनिक गर्नुभएको संकल्प पत्रमा सुशासन र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउदै नीतिगत तथा कार्यगत भ्रष्टाचार अन्त्य गरी पारदर्शी प्रशासन संयन्त्र निर्माण गर्ने गरी “सुशासन पहिलो सर्त” बनाउने उल्लेख छ । यस्तैगरी युवा रोजगारी र स्वरोजगारका क्षेत्रमा युवा स्टार्टअपका लागि परियोजना आधारमा १५ लाख रुपैयाँसम्म विनाधितो कर्जा नीति ल्याउने, वैदेशिक रोजगारीबाट फर्केकालाई सीपअनुसार स्वदेशमै अवसर सिर्जना गर्ने योजना अघि सारेका उहाँले बताउनुभयो । यस्तैगरी कृषि आधुनिकीकरण र ब्रान्डिङमा जोड दिँदै ३७ वटै वडामा माटो परीक्षण गरी “एक वडा–एक कृषि उत्पादन” अभियान सञ्चालन गरी आत्मनिर्भर कृषि अभियानलाई प्राथमिकता दिइने बताउनुभएको छ ।
उम्मेदवार रानाले पर्यटनका तीन क्लस्टर विभाजन गरी अगाडि बढ्ने बताउदै कालीगण्डकी उपत्यकालाई वैदिक स्मार्ट सिटीका रूपमा विकास गर्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने, ऐतिहासिक क्षेत्रहरूलाई गौरव पर्यटन क्षेत्र बनाउने तथा निस्दी, पूर्वखोला, रम्भा लगायत दक्षिणी भेगलाई सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गर्नुभयो । उहाँले भौतिक पूर्वाधार र सिँचाइका सम्बनधमा आर्यभञ्ज्याङ–रामपुर सडकलाई गौरव पर्यटन सडकका रूपमा कालोपत्रे, तराई–पहाड जोड्ने द्रुतमार्ग स्तरोन्नति, कालीगण्डकी करिडोरसँग जोडिने सांस्कृतिक रिङरोड निर्माण, विभिन्न ग्रामीण सडक कालोपत्रे तथा पदयात्रा मार्ग निर्माण गर्ने योजना संकल्प पत्रमा समेटनुभएको छ ।
शिक्षा र स्वास्थ्यका विषयमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, छात्रालाई डाक्टरसम्म निःशुल्क अध्ययन अवसर, कालीगण्डकी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको प्राविधिक कलेज स्थापना गर्ने लक्ष्य रहेको उम्मेदवार रानाको भनाइ छ । यसका साथै रामपुर अस्पतालमा ट्रमा सेन्टर र जलन उपचार केन्द्र स्थापना, आधारभूत स्वास्थ्य संस्थाको स्तरोन्नति र आयुर्वेद तथा प्राकृतिक चिकित्सालय व्यवस्थित गर्ने उहाँको योजना छ ।
महिलालाई सीपमूलक तालिम र विशेष आर्थिक प्याकेजमार्फत आत्मनिर्भर बनाउने, रामपुर र माथागढीमा अत्याधुनिक रंगशाला निर्माण, विभिन्न पालिकामा खेलकुद प्रवद्र्धन गर्ने लक्ष्य रहेको उम्मेदवार रानाले बताउनुभयो । उहाँले सबै बस्तीमा आधारभूत सुविधा सहित “आदर्श गाउँ” विकास गर्ने अवधारणा अघि सारिएकोसमेत जानकारी दिनुभयो ।







