निर्वाचनबारे पत्रकारसँग अन्तरक्रिया

पाल्पा । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, स्वच्छ र सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले ‘मतदाता शिक्षा एवं निर्वाचन प्रचार–प्रसार’ विषयमा पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला निर्वाचन कार्यालय पाल्पाको आयोजनामा भएको कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले निर्वाचनको प्राविधिक तयारी, मतदाता शिक्षाको अवस्था तथा निर्वाचन आचारसंहिताका विविध पक्षबारे जानकारी दिनुभयो। उहाँले निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको बताउँदै बदर मत कम गर्ने लक्ष्यसहित जिल्लाका ८१ वडामा स्वयंसेवक परिचालन गरी घरदैलोमै मतदाता शिक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सही र तथ्यपरक सूचना प्रवाहले मतदातालाई सुसूचित बनाउने उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमलाई सकारात्मक सहयोगका लागि आग्रह गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत ऋषिराम सुवेदीले जिल्लामा हालसम्म आचारसंहिता उल्लंघनका गम्भीर घटना नदेखिएको जानकारी दिनुभयो । केही मौखिक गुनासाहरू प्राप्त भए पनि तत्काल सम्बोधन गरिएको र हालसम्म लिखित उजुरी नपरेको उहाँको भनाइ थियो। अनुगमन कार्यलाई अझ तीव्र बनाइएको पनि उहाँले बताउनुभयो ।

अर्का आचारसंहिता अनुगमन अधिकृत सूर्यप्रसाद अर्यालले २९ जना उम्मेदवारमध्ये हालसम्म २४ जनाले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको जानकारी दिनुभयो। उहाँका अनुसार एक राजनीतिक दलको केन्द्रीय कार्यालयमार्फत खर्च व्यवस्थापन हुने जानकारी प्राप्त भएको छ भने निर्वाचन क्षेत्र नं. १ मा २ जना र क्षेत्र नं. २ मा २ जना गरी ४ जनाले अझै बैंक खाता नखोलेको अवस्था छ ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले निर्वाचनसम्बन्धी सूचना समयमै मतदातासम्म पु¥याउन प्रभावकारी सूचना प्रवाह आवश्यक रहेको बताउनुभयो। उहाँले निर्वाचनअघि र निर्वाचनपछिको अवधिमा पनि सूचना संकलनका लागि पत्रकारहरूलाई सहज वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोग नेपालले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय