
पाल्पा । राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारीलाई रामपुर नगरपालिका र नगर खेलकुद विकास समितिले सम्मान गरेको छ । उहाँलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, नगर खेलकुद विकास समितका अध्यक्ष कमल सेनलगायतले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।
खेलाडी भण्डारीले छिमेकी जिल्ला तनहुँमा जन्मिए पनि आफ्नो पाल्पासँग पारिवारिक सम्बन्ध भएको बताउनुभयो । उहाँले खेलाडीको रूपमा सम्मानित हुन पाउँदा खुसी लागेको बताउदै सम्मानप्रति आभार व्यक्त गर्नुभयो ।
तनहुँ भिमाद–१ निवासी भण्डारीले आफू १२ वर्षको उमेरदेखि नै भलिबल खेल्न थालेका बताउदै २०७४ सालमा नेपाल पुलिस स्कुलमा भर्ना भएपछि भलिबल यात्राले औपचारिकता पाएको बताउनुभयो । उहाँले पुलिस स्कुलमा पुगेको ६ महिनापछि उहाँले नेपाल पुलिस क्लबमा प्रशिक्षणको अवसर प्राप्त गरेको बताउनुभयो । १४ वर्षमै राष्ट्रिय टिमबाट डेब्यु गर्न सफल खेलाडी भण्डारीले २०७६ मंसिरमा काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) बाट राष्ट्रिय टिममा डेब्यु गर्नुभएको हो ।
सम्मान कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख थापाले खेलाडीहरु देशको गौरव र पहिचान भएको बताउँदै उनीहरूले राज्यले सेवासुविधा दिन नसक्नु दुःखद रहेको बताउनुभयो । स्थानीय सरकारले नयाँ खेलाडी जन्माउन र उनीहरुलाई टिकाउन विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको बताउनुभयो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले रामपुरमा हुने विभिन्न खेलकुद र सहभागी राष्ट्रिय स्तरका खेलाडीको आगमनले नयाँ खेलाडीलाई प्रेरणा प्रदान गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्तो गतिविधिलाई निरन्तरता दिने बताउनुभयो ।








