
पाल्पा । बगनासकाली गाउँपालिकामा विपद् व्यवस्थापन सम्बन्धी एक दिने आधारभूत तालिम सम्पन्न भएको छ । गाउँपालिकाको स्थानीय स्काउट समितिको आयोजनामा भएको उक्त तालिममा पालिकाभित्रका १५ वटा विद्यालयका एक सय भन्दा बढी स्काउट विद्यार्थी र शिक्षकहरूको सहभागिता थियो ।
तालिममा सशस्त्र प्रहरी बल ५ नं. गुल्म हेडक्वाटर पाल्पाका सहायक प्रहरी निरीक्षक दीपक न्यौपाने सहितको टोलीले प्राकृतिक तथा मानव सिर्जित विपद् व्यवस्थापनका उपायहरूबारे प्रयोगात्मक प्रशिक्षण दिनुभएको थियो । यस्तै, नेपाल रेडक्रस सोसाइटी पाल्पाका प्रमुख विनोद भारतीले प्राथमिक उपचारका विधिहरूका बारेमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सरस्वती चिदीले विपद्का समयमा हुन सक्ने क्षति न्यूनीकरणका लागि गाउँपालिका सधैँ चनाखो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो तालिमले आगामी दिनमा विपद्का घटनामा कम क्षति हुने र समुदायमा सचेतना फैलाउन ठूलो मद्दत पुग्ने विश्वास लिएका छौँ।“
त्यस्तै, सशस्त्र प्रहरी बल ५ नं. गुल्म पाल्पाकी प्रमुख, प्रहरी नायव उपरीक्षक झुपा कुमारी पन्थीले विपद् जुनसुकै बेला र जहाँ पनि आउन सक्ने भएकाले पूर्वतयारीमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । पछिल्लो समय पाल्पामा आगलागी र सवारी दुर्घटना जस्ता घटना बढिरहेको भन्दै उहाँले दक्ष जनशक्ति उत्पादन र सचेतनाका लागि स्काउट मार्फत गरिएको यो पहलको प्रशंसा गर्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले विद्यार्थीहरूलाई प्रदान गरिएको यस्तो ज्ञानले समाजका धेरै क्षेत्रलाई समेट्ने बताउनुभयो । स्थानीय स्काउट समितिका प्रमुख आयुक्त दयाराज न्यौपानेले स्काउट जुनसुकै कठिन परिस्थितिमा पनि सेवाका लागि तयार रहने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिका प्रवक्ता टीकाबहादुर थापाले स्काउटलाई आगामी दिनमा पनि सामाजिक र रचनात्मक गतिविधिमा जोड्दै लैजाने नीति रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, वडाध्यक्षहरू, विपद् व्यवस्थापन समिति संयोजक, कर्मचारीसहितको उपस्थिति रहेको बालमैत्री फोकल पर्सन नारायण तिमिल्सेना जानकारी दिनुभयो ।







