उम्मेदवार पाण्डेयका २५ प्रतिबद्धता सार्वजनिक

पाल्पा । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट पाल्पा निर्वाचन क्षेत्र नं.२ का उम्मेदवार सोम प्रसाद पाण्डेयले निर्वाचन क्षेत्रको विकास र समृद्धिका लागि २५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचाप्रसारमा व्यस्त रहनुभएका उहाँले पत्रकार सम्मेलन गरी प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो । पाल्पाको समृद्धि, पाल्पालीको सेवा र पाल्पाको उज्वल भविष्य निर्माण नै आफ्नो संकल्प रहेको उम्मेदवार पाण्डेयको भनाइ थियो ।

सार्वजनिक गरिएको प्रतिबद्धतामा तानसेनलाई ऐतिहासिक शहरको रुपमा विकास गरी पर्यटकीय सुन्दर शहर बनाउने, एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने, तानसेन बन्दिपोखरादेखि प्रभास र दमकडा क्षेत्रलाई आवासीय शैक्षिक हवका रुपमा विकास गर्ने, राष्ट्रिय स्तरको ’मगर सङग्रहालय’ र ’मगर गाउँ’ स्थापना गर्ने, श्रीनगरको मौलिकता नबिग्रने गरी बुद्ध गार्डेनको रुपमा विकास गरी भगवान गौतम बुद्धको चार धाम तीर्थस्थल निर्माण गर्ने विषय उल्लेख छ ।

यसका साथै माडीमा माण्डव्य आश्रम र माण्डव्य ताल निर्माण साथै रुरुक्षेत्रमा ऋषिकेश मोक्षधाम सरोवर निर्माण गर्ने, पश्चिम नेपालकै शैक्षिक धरोहरको रुपमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस तानसेनलाई क्यूएए को मापदण्ड पूरा गरी शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, पाल्पा अस्पतालको स्तारेन्नति गर्ने, युनाइटेड मिसन अस्पताललाई अन्तराष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टर, अध्ययन, अध्यापन केन्द्रको रुपमा विकास गर्ने, नेपाल–अङ्गेज युद्धको विजयगाथा झल्काउने ’एङ्गलो–नेपाल बार गार्डेन’ र तानसेन–नुवाकोट–जितगढी ’युनिफिकेसन ट्रेल’ (एकीकरण मार्ग) निर्माण गर्न एकीकृत विकास गुरुयोजना तयार गर्ने, ऐतिहासिक रणमिरेश्वरी भगवती मन्दिरको पुननिर्माण र सौन्दर्यकरण दुई वर्षभित्र पूरा गर्ने जनाइएको छ ।

यस्तैगरी बल्ढेङगढीलाई राष्ट्रिय पार्कको रुपमा विकास गर्ने, सिद्धार्थ राजमार्गको बुटवल–तानसेन राम्दी खण्डलाई तीन वर्षभित्र स्तरोन्नति गर्ने, हाथोंक–छहरा मोटरबाटो २ वर्षभित्र कालोपत्रे गर्ने, दोभान–बोटेगाउँ–मरेक काशीभन्ज्याङ दुस्टुङ बतासे–सातमुरे गुल्मी सडक निर्माण गर्ने, आफूले सुरु गरेका भूतखोला–कचल, जगात गोठावी, र माथागढी–देवदह, माडीफॉट रिङरोडजस्ता दर्जनौं सडकहरूलाई पूर्णता दिंदै ग्रामीण सहडक स्तारोन्नति गर्ने, तानसेनमा तीन हजार पाँच सय सिट क्षमताको स्मार्ट सभाहल निर्माण गर्ने, तानसेनमा नेवारी घर निर्माण सहित ’टक्सार लिभिङ म्युजियम’ बनाउने, कृषि उत्पादनको आधुनिकीरण र व्यवसायीकरणसहित आयवृद्धि र स्वरोजगारी सिर्जना गर्ने, सुन्तला, अकबरे खुर्सानी, अदुवा, बेसार, अलौची, एभोकाडो, ड्रागन फुट, कफीलगायतको पकेट क्षेत्र घोषणा गरी लघु उद्यम र बजारीकरणमार्फत युवा उद्यमशीलताको विकास गर्ने, बाँदर, बदेल, दुम्सी, चितुवालगायतका वन्यजन्तुबाट हुने कृषिजन्य र मानवीय क्षति रोकथाम गर्न आवश्यक कानुन निर्माण गर्ने, बगनासकाली, तानसेन हिल र रानीमहललाई समेटेर साइकलिङ्ग ट्रयाक सञ्चालन गर्ने, बढ्दो बसाइसराईलाई रोक्नको लागि आयआर्जन र रोजगारीको व्यवस्था गर्ने, सिद्धार्थ राजमार्गको बुटवल तानसेन राम्दी खण्डमा फूलहरु रोप्ने र फल्चाहरु निर्माण गर्ने, अमूर्त सम्पदाहरुको संरक्षण र प्रवर्धन गर्ने र राष्ट्र, राष्ट्रियता, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सम्बद्र्धन, राजनीतिक स्थिरता, सुशासन, भष्ट्रचारको अन्त्य, सामाजिक न्याय र मुलुकको समृद्धिको पक्षमा निरन्तर लागि पर्ने विषयसमेत समेटिएको उम्मेदवार पाण्डेयले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय