सुनारी मगरको चुनावी प्रतिबद्धता सार्वजनिक

पाल्पा । नेपाली कम्युनिष्ट पार्टी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार हुम बहादुर सुनारी मगरले चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ । उहाँले तानसनेमा पत्रकार सम्मेलन गरेर आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

सुनारी मगरले आफू निर्वाचित भएमा आदीवासी जनजातिका बहुल्यता रहेको क्षेत्र भएका कारण घरेलु मदिरा (तीनपाने रक्सी) लाई ब्रान्डिङ्ग गर्नेका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, पाल्पामा प्रसिद्ध तीनपाने रक्सीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी स्थानीय उत्पादनबाट आर्थिक समृद्धिको आधार बनाउने योजना रहेको बताउनुभयो । उम्मेदवार सुनारीमगरले रामपुरलाई पर्यटकीय शहर बनाउने, आर्यभञ्ज्याङ्ग ताहँु रामपुर सडक खण्डलाई स्तरोन्नति गर्ने, कृषि, पशुपालन र पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतका योजना आफूले राखेको बताउनुभयो । उहाँले कालीगण्डकी डाइभर्सन रोक्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कालीगण्डकी हाम्रो सभ्यताको सम्पदा हो, हामीले कालीगण्डकीलाई डाइभर्सन गरेर होइन्, यसको सभ्यतालाई संरक्षण गरेर स्थानीयको आयआर्जनसंग जोड्नका लागि योजना बनाएको उम्मेदवार सुनारीमगरको भनाइ छ । कालीगण्डकीको सभ्यता जोगाउँदै हुँगीमा ड्याम बनाएर विद्युत उत्पादन गर्ने योजना बनाएको जानकारी गराउनुभयो ।

ग्रामीण सडकको स्तरोन्नति, स्थानीय पूर्वाधार विकास, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पर्यटन प्रबद्र्धनलाई पनि प्राथमिकता दिने बताउनुभयो सुनारीमगरले बताउनुभयो । पाल्पा–१ मा विकास र संरक्षण सँगसँगै लैजान आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनुभयो । सुनारीमगर जनताको अधिकार, स्थानीय स्रोतको संरक्षण र पहिचानको प्रवद्र्धनमार्फत समृद्ध पाल्पा निर्माण गर्ने लक्ष्यसहित चुनावी अभियान तीव्र पारेको बताउनुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय