
पाल्पा । निर्वाचनको मिति नजिकिएसँगै गाउँ छिरेका उम्मेदवारहरूलाई पाल्पाका मतदाताले वर्षौँदेखिको अधुरो सडकको धुलो र हिलोका विषयमा गुनासो र प्रश्न गर्ने गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मत माग्न पुगेका दलका शीर्ष नेतादेखि स्वतन्त्र उम्मेदवारसम्मलाई स्थानीयले एउटै प्रश्न गरिरहेका छन् “हाम्रो बाटो कहिले बन्छ ?
पाल्पा जिल्लाका मुख्य सडकहरू आर्यभन्ज्याङ–ताहुँ–रामपुर, तानसेन–हार्थोक–छहरा, बाँसटारी–झडेवा र तानसेन–चिलाङ्दी–चापपानी–राम्दी एक दशकदेखि जीर्ण अवस्थामा छन् । यसका साथै भित्री सडकहरुको पनि अवस्था उस्तै छ । १५ वर्षअघि तत्कालीन जिल्ला विकास समितिले खनेका यी सडकहरू अहिले न हिँडिनसक्नु छन्, न त फेरिन नै सकेका छन् । लुम्बिनी प्रदेश सरकारले सात वर्षअघि ’गौरवको आयोजना’ भन्दै बजेट छुट्याए पनि काम कछुवाको गतिमा चल्दा मतदाता थप धुलो र हिलोको यात्रा गर्न बाध्य बनेका छन् ।
रैनादेवी छहरा ५ भालुखानका विस्व केसीले “तानसेनदेखि पश्चिम जाने सडकको बेहाल भएको दश वर्ष नाघिसकेको बताउनुभयो । उहाँले चुनाव आउँदा कालोपत्रे गर्छौं भन्दै ढोग्न आउँछन्, जितेर गएपछि धुलो उडाउँदै गाडीमा हुइँकिन्छन्, हाम्रो सुविधाका विषयमा कसैले वास्ता नगर्ने गुनासो गर्नुभयो ।
हार्थोक–छहरा खण्डको सडक अवस्था भयावह छ । अहिले काम सुरु भएपनि सन्तोष मान्ने अवस्था छैन स्थानीय मथुरा रास्कोटीका अनुसार यो सडक अहिले सडक नभएर ’खहरे खोला’ जस्तो बनेको छ । नालीको व्यवस्थापन छैन, पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने समस्याले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पु¥याएको छ । “मान्छे हिँड्ने बाटो हो कि खोला हो छुट्याउनै गाह्रो छ,“ उहाँले “यस्तो अस्तव्यस्त बाटोले जुनसुकै बेला ठुलो दुर्घटना निम्त्याउन सक्ने बताउनुहुन्छ ।
पूर्वी पाल्पाको पीडा पनि उस्तै छ । रम्भा–५, ताहुँका विनोद श्रेष्ठका अनुसार आर्यभन्ज्याङ–रामपुर सडक जिल्लाको पूर्वी भेगको मेरुदण्ड हो । तर, ६ वर्षदेखि स्तरोन्नतिका नाममा सडक खनेर अलपत्र छाडिएको छ । यसले गर्दा माथागढी, रम्भा, पूर्वखोला, निस्दी र रामपुरका बासिन्दाले दैनिक सास्ती खेप्नुपरेको छ ।
मतदाताको गुनासो र प्रश्नपछि उम्मेदवारहरू जिल्लाका मुख्य सडकहरू विकासको आधार भएकाले स्तरोन्नतिको पहिलो प्राथमिकता रहेको जनाएका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य दल र स्वतन्त्र गरी २९ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । तर, दशकौँदेखि आश्वासन मात्र पाएका पाल्पाली मतदाता यसपालि केवल ’कागजी प्रतिबद्धता’ ले चित्त बुझाउने पक्षमा छैनन् । पाल्पाका १० वटै पालिकालाई जोड्ने यी चार मुख्य सडकको निर्माण सम्पन्न भएमा जिल्लाको आर्थिक र सामाजिक कायापलट हुने निश्चित छ । करुवा पत्रिकामा समाचार छ ।








