
पाल्पा,प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले चुनावी अभियान तीव्र बनाउनुभएको छ ।
यहाँ शुक्रबार पूर्वखोला गाउँपालिकाको बिरकोट आसपासका बस्तीमा पुगेर मतदातासँग घरदैलो तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ । निर्वतमान सांसद समेत रहनुभएका आचार्यले स्थानीय मतदातासँग भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्नुभएको छ ।
उम्मेदवार आचार्यले देशमा बढ्दो भ्रष्टाचारको अन्त्य, सुशासन स्थापना र युवापुस्ताको अपेक्षालाई सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । “युवा विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीयस्तरमै सीपमूलक तालिम र उद्यमशीलतासँग जोड्ने पहल गर्ने” उहाँले बताउनुभयो । नेता आचार्यले अधुरा मोटर बाटोहरूको स्तरोन्नति, पूर्वाधार विकास र चलिरहेका योजनालाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विगत लामो समयदेखि यस क्षेत्रको विकासमा नेकपा एमालेले महत्वपूर्ण भूमिका खेलेको बताउदै यहाँका मतदाताको सहयोगले नै यो सम्भव भएको उम्मेदवार आचार्यले बताउनुभयो । उहाँले यो निर्वाचनमा पनि मतदाताले नेकपा एमालेलाई स्पष्ट बहुमत दिएर विकास र समृद्धिको बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । फागुन २१ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी विजयी गराउन मतदातासमक्ष एमालेका नेता तथा कार्यक्रता जनताको घरदैलोमा पुगेर आग्रह समेत गरिरहेका छन् ।







