कसेनी स्वास्थ्य चौकीलाई ह्विलचेयर र बेड सहयोग

पाल्पा । माथागढी गाउँपालिका–३, कसेनी सराईमा रहेको कसेनी स्वास्थ्य चौकीलाई बिरामीको उपचारमा सहजताका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

स्थानीय मोतीप्रसाद घर्तीमगर र उहाँका छोरा मनिष घर्तीमगरले आफ्नी स्वर्गीय श्रीमती एवं ममतामयी माता हिरादेवी घर्तीमगरको स्मृतिमा स्वास्थ्य चौकीलाई एक थान ह्विलचेयर र एक थान एडजस्टेबल फोल्डिङ हस्पिटल बेड उपलब्ध गराउनुभएको हो ।

सामग्री ग्रहण गर्दै माथागढी–३ का वडाध्यक्ष तेजबहादुर घर्तीमगरले व्यक्तिगत तर्फबाट प्राप्त यस्तो सहयोगले सरकारी स्वास्थ्य संस्थाको सेवा प्रवाहमा ठूलो टेवा पुग्ने बताउनुभयो । “वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने हाम्रो लक्ष्यमा यस्ता सामाजिक व्यक्तित्वहरूको सहयोगले ऊर्जा थपेको छ,“ व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका वडाध्यक्ष घर्तीमगरले भन्नुभयो, “सरकारी बजेटले मात्र सबै आवश्यकता तुरुन्तै पुरा गर्न कठिन हुने अवस्थामा घर्ती परिवारले देखाउनुभएको यो उदारता प्रशंसनीय रहेको बताउनुभयो ।

स्वास्थ्य चौकी प्रमुख पविसरा सारुले यी सामग्रीको उपलब्धतासँगै अब अशक्त र गम्भीर प्रकृतिका बिरामीलाई सेवा दिन निकै सहज हुने बताउनुभएको छ । “स्वास्थ्य चौकीमा आउने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति र आकस्मिक बिरामीलाई ह्विलचेयर नहुँदा निकै सास्ती हुने गरेको थियो,“ प्रमुखले भन्नुभयो, “अब फोल्डिङ बेड र ह्विलचेयर प्राप्त भएपछि बिरामीलाई उपचार गर्न र एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो हुने बताउनुभयो ।“

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय