
पाल्पा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी पाल्पाका १० वटै स्थानीय तहका ८१ वटा वडामा फागुन ३ गतेदेखि ‘मतदाता शिक्षा’ अभियान सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय पाल्पाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र प्रभावकारी बनाउँदै विगतका निर्वाचनमा देखिएको बदर मतको संख्या न्यूनीकरण गर्न जिल्लाभरि ८१ जना स्वयंसेवक परिचालन गरेको हो । फागुन १७ गतेसम्म सञ्चालन हुने यस अभियानअन्तर्गत स्वयंसेवकहरू प्रत्येक मतदाताको घर–आँगनमा पुगेर सही ढङ्गले मतदान गर्ने तरिका सिकाउने जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिनुभयो । उहाँले विगतका निर्वाचनमा जिल्लामा भएको बदर मतका आधारमा मतदाता शिक्षाको आवश्यकता रहेकोले मतदाता शिक्षालाई प्राथमितका दिइएको बताउनुभयो । यसअघिका निर्वाचनमा बदर भएका अधिकांश मतपत्रमा धेरै छाप लगाएको, मतपत्र बाहिर छाप लगाएको देखिएको थियो ।
२०७९ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाल्पामा कुल १४ हजार २४५ मत बदर भएको थियो । जुन कुल खसेको मतको ३.८३ प्रतिशत हो । तथ्याङ्क अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३ हजार २ सय ६४ र प्रदेशसभातर्फ ४ हजार ६ सय ९४ मत बदर भएको थियो । विशेषगरी एउटै मतपत्रमा धेरै चिन्हमा छाप लगाउने र मतपत्रको घेराभन्दा बाहिर छाप लगाउने समस्या देखिएकाले यसपटक ज्येष्ठ नागरिक र सामाजिक सञ्जालको पहुँच नभएका मतदातालाई लक्षित गरी घरमै पुगेर व्यावहारिक प्रशिक्षणमा जोड दिइएको निर्वाचन कार्यालयले जनाएको छ । पाल्पामा २०७० को निर्वाचनमा ३.२ प्रतिशत रहेको बदर मत २०७४ मा बढेर ५ प्रतिशत पुगेकाले पनि यसपटकको अभियानलाई थप सघन बनाइएको हो ।
अभियान सञ्चालनका लागि १० वटै स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्तिहरूलाई अनुगमनकर्ताको जिम्मेवारी तोकेर विशेष प्रशिक्षण दिइएको छ । तानसेन नगरपालिकाका सम्पर्क व्यक्ति भरत आचार्यका अनुसार, छनोट भएका स्वयंसेवकहरूलाई वडा तहमा खटाउनुपूर्व आवश्यक तालिम प्रदान गरिएको बताउनुभयो । कार्यक्षेत्रमा खटिने स्वयंसेवकले १० हजार र अनुगमनकर्ताले ५ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले डिजिटल माध्यमबाट पनि सचेतना फैलाइरहेको भए तापनि ग्रामीण भेगका मतदाताका लागि स्वयंसेवकको भौतिक उपस्थितिमै दिइने शिक्षा बढी प्रभावकारी हुने विश्वास गरिएको छ ।
निर्वाचन कार्यालयले यो अभियान कुनै पनि दल वा उम्मेदवारको पक्षमा नभई पूर्णतः निष्पक्ष र आचारसंहिताको परिधिभित्र रहने स्पष्ट पारेको छ । जिल्ला निर्वाचन अधिकारी शर्माले कुनै पनि दलप्रति पूर्वाग्रह नराखी जिम्मेवार ढंगले काम गर्न स्वयंसेवकहरूलाई निर्देशन दिनुभएको छ । सही मत सङ्केतले नै जनमतको वास्तविक कदर हुने र निर्वाचन परिणाममा समेत प्रभाव पार्ने भएकाले यसपटक बदर मतलाई शून्यको नजिक झार्ने लक्ष्यका साथ जिल्लाभरि मतदाता शिक्षालाई तीव्रता दिइएको हो । करुवा पत्रिकाबाट







