
पाल्पा । नेकपा एमाले पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार ठाकुरप्रसाद गैरेले पाल्पाको समग्र विकास र अधुरा योजनालाई पूर्णता दिन आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनको सन्दर्भमा बुधबार रूपन्देही निर्वाचन परिचालन सम्पर्क कमिटीले आयोजना गरेको मतदाता भेटघाट तथा अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।
निर्वतमान सांसदसमेत रहनुभएका गैरेले पाल्पाली जनताको हितका लागि आफू जस्तोसुकै अवस्थामा पनि समर्पित रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकालमा सुरु भएका ठूला परियोजनाहरू सम्पन्न गर्न सूर्य चिह्नमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
आगामी आर्थिक वर्षभित्रै सिद्धबाबा सुरुङमार्गबाट सर्वसाधारणले सुरक्षित यात्रा गर्न पाउने दाबी गर्दै उहाँले भन्नुभयो, “हार्थोक–छहरा मोटरबाटोका लागि बजेट सुनिश्चित भइसकेको छ भने राम्दीदेखि रानीमहलसम्मको सडकका लागि १ अर्ब ४८ करोड बजेट विनियोजन भई काम तीव्र गतिमा भइरहेको छ ।“यसबाहेक उहाँले तानसेनको खानेपानी समस्या समाधान, ऐतिहासिक भगवती मन्दिर निर्माण र पर्यटकीय क्षेत्रको विकासलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभयो । विशेषगरी कुसुमखोला, पालुङ्ग मैनादी, पेलाबास र अमलाबास समेटिएको ’छहरा सुन्तला कोरिडोर’ निर्माणको कामलाई पूर्णता दिन एमालेको जित आवश्यक रहेको उम्मेदवार गैरेको भनाइ थियो ।
कमिटीका संयोजक रामचन्द्र बस्यालले समग्र पाल्पाको विकासमा नेकपा एमालेको भूमिक महत्वपूर्ण रहेकोले रुपन्देहीलाई कर्मथलो बनाइ बसोबास गर्ने एमालेका शुभेच्छुकहरु आआफ्नो स्थानबाट एमाले जिताउने अभियान चलाएर समृद्ध पाल्पा निर्माण सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।








