
पाल्पा । तानसेन नगरपालिका ३ नं. वडा भित्रका विद्यालयहरु बिच प्रतियोगितात्मक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वडाको साहित्यिक कार्यक्रम समितिले बुधबार पद्म पब्लिक नमूना माध्यमिक विद्यालयको सभाहलमा लघुकथा, कविता लेखन तथा वाचन र वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
तानसेन नगरपालिका ३ नं. वडा कार्यालयको आर्थिक सहयोग, पाल्पा साहित्य समाजको समन्वयमा आयोजना भएको कार्यक्रममा वडा अन्तरगत रहेका विद्यालय १५ जना विद्यार्थीले सहभागिता रहेको पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मीले जानकारी दिनुभयो ।
प्रतियोगितामा लघुकथातर्फ पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा भूमिका बस्याल प्रथम, पाल्पा आवासिय माविका छात्रा कृष्टी वस्याल द्वितीय, जनता माविका छात्रा अलिन्सा घिमिरे तृतीय र सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलका छात्र वैवभ कार्कीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
यस्तैगरी कविता लेखन तथा वाचन प्रतियोगितातर्फ पाल्पा प्यारागन इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा कौशल्या वस्याल प्रथम, सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा प्रदिप्ती नेपाल द्वितीय, पद्म पब्लिक नमूना माध्यमिक विद्यालयकी छात्रा आसा गन्धर्व तृतीय र जनता माध्यमिक विद्यालयकी छात्रा तुलजा नेपाल सान्त्वना स्थान प्राप्त गरेका छन् ।
वक्तृत्वकला प्रतियोगितातर्फ सेन्ट कपितानियो इङ्गलिस बोर्डिङ्ग स्कूलकी छात्रा रियाना नेपाल प्रथम, पाल्पा प्यारागन बोर्डिङ्ग स्कूलकी छात्रा केकी बस्याल द्वितीय, जनता माध्यमिक विद्यालय पाल्पाकी छात्रा प्रेस्का घिमिरे तृतीय र पाल्पा आवासिय माध्यमिक विद्यालयकी छात्रा लजिना कार्की सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगिताका विजेता तथा सहभागी समूहलाई नगद, शैक्षिक सामग्री र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा वडाध्यक्ष बाबुरत्न शाक्यले साहित्यिक कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर हुने भएकाले विद्यार्थीको साहित्यिक प्रतिभा पहिचान र प्रवद्र्धन गर्न वडाले बजेट विनियोजन गरेको बताउनुभयो ।
प्रतियोगिताका सहभागी तथा विजेता विद्यार्थीलाई शुभकामना दिँदै तानसेन नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवम् लेखा अधिकृत कोशलराज घिमिरेले साहित्य मानव जीवनको अभिन्न अङ्ग भएको र यसले जीवनमा आइपर्ने समस्याहरूको समाधानका लागि समेत मार्गनिर्देश गर्ने बताउनुभयो ।








