
पाल्पा । दिव्यज्योति नमुना माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आइएसओ) लोगो पाएको छ । विद्यालयले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न आवश्यक ५० सूचकमध्ये हालसम्म २० प्रतिशत काम सकेपछि आइएसओ लोगो पाएको हो ।
लोगो हस्तान्तरण कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले विद्यालयले सरसफाई, सुरक्षा, भौतिक पूर्वाधार, अन्तरिक व्यवस्थापनको आधारमा लोगो पाएको र अब नतिजा सुधारमा लाग्नुपर्ने बताउनुभये । उहाँले आइएसओको विभिन्न सूचकहरू पूरा गरेपछि विद्यालय अभिभावक, विद्यार्थीको रोजाईको केन्द्र बन्ने विस्वास व्यक्त गर्नुभयो । विद्यालयले गर्ने जुनसुकै शैक्षिक प्रगतिका काममा पालिकाले विगतदेखि सघाएको र आगामी दिनमा पनि सकेको सहयोग गर्ने अध्यक्ष चिदीले प्रतिबद्धता व्यक्त गनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका नेपाल प्रतिनिधि तथा ग्लोबल क्लालिटी काउन्सिलका प्रमुख सुदिप शर्माले लोगो पाएपछि विद्यालयको थप सूचक पूरा गर्न निरन्तर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयले आइएसओ लोगो पाएपछि संस्कारयुक्त विद्यार्थी उत्पादन हुने बताउनुभयो । विद्यालयले लोगो पाउनका लागि प्रारम्भिक चरणको काम सकेको र अब नतिजा सुधारमा ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नतिजा सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकको भूमिका महत्वपूर्ण हुने शर्माको भनाइ छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापाले गत भदौँमा ग्लोबल क्लालिटी काउन्सिलसँग सम्झौतापछि गरिएको कामको बारेमा जानकारी दिनुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले आइएसओ लोगो प्रमाणपत्र पाउने गरी द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशमाया सुनार, माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य लिलासरा चिदी, विद्यालयका सल्लाहकारहरू पदमबहादुर घर्तीमगर र विष्णुप्रसाद काफ्लेले शुभकामना दिनुभयो । कार्यक्रम आइएसओका विद्यालय प्रतिनिधि सुरेशकुमार भट्टराईको स्वागत, सहायक प्रधानाध्यापक नारायणबहादुर मश्राङ्गीको संचालन र विव्यस अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा कार्यक्रम भएको हो ।








