विकास र राष्ट्रियताका लागि एमालेको विकल्प छैन : उम्मेदवार आचार्य

पाल्पा । नेकपा (एमाले) का तर्फबाट पाल्पा क्षेत्र नं. १ का उम्मेदवार नारायण प्रसाद आचार्यले देशको अस्तित्व रक्षा र समृद्धिका लागि एमाले नै एक मात्र राष्ट्रवादी शक्ति भएको दाबी गर्नुभएको छ । निर्वाचन प्रचारप्रसारका क्रममा माथागढी गाउँपालिकाको बहादुरपुर, रहबास, पूर्वखोलाको जल्पा र देवीनगरलगायतका क्षेत्रका मतदाता भेटघाटमा पुग्नुभएका आचार्यले एमाले नेतृत्वको सरकारले गरेका कामकै कारण जनताको जीवनस्तर बदलिएको बताउनुभयो ।

जनताका गुनासा सुन्दै र आफ्ना भावी योजना सुनाउँदै उम्मेदवार आचार्यले साठीकोल–जल्पा–बेतेनी–बहादुरपुर–दुम्कीबास सडक निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका नागरिकलाई आवतजावत र कृषि उत्पादन ढुवानीमा ठुलो राहात मिलेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनमा यहाँका बासिन्दाले खानेपानीका लागि निकै सास्ती भोग्नुपथ्र्यो, तर अहिले मैदान र साठीकोल क्षेत्रमा लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएपछि जनताले आनन्दको सास फेर्न पाएका छन् ।”

आर्थिक समृद्धिको उदाहरण दिँदै उम्मेदवार आचार्यले मैदानमा सञ्चालित ’स्मार्ट बाख्रापालन’ कार्यक्रमबाट ५० भन्दा बढी घरधुरीले प्रत्यक्ष आम्दानी गरिरहेको जानकारी दिनुभयो । यी सबै उपलब्धिहरू स्थानीय, प्रदेश र संघीय सरकारमा एमालेको नेतृत्व रहेका बेला सम्भव भएको उहाँको तर्क थियो ।

पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका नयाँ शक्तिहरूप्रति लक्षित गर्दै उहाँले “नयाँका नाममा योजना र धैर्यता नभएका व्यक्तिहरूले निर्वाचनका बेला अफवाह फैलाइरहेका छन् ।” आचार्यले भन्नुभयो, “सामाजिक सञ्जालको अल्गोरिदम प्रयोग गरेर भ्रम छर्नेहरूले गाउँको वास्तविक दुख बुझेका छैनन् । ग्रामीण क्षेत्रका नागरिकलाई अप्ठेरो पर्दा सधैँ एमाले नै साथमा उभिएको छ ।”

उहाँले आगामी दिनमा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा दीर्घकालीन योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । राष्ट्रियता र सार्वभौमसत्ता जोगाउन एमालेलाई जिताउनुको विकल्प नरहेको भन्दै उहाँले मतदातालाई ढुक्क भएर मतदान गरी विजय बनाउन आग्रहसमेत गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय