
पाल्पा । पाल्पा जिल्लामा पछिल्लो एक महिनाको अवधिमा घरेलु हिंसाका घटनाहरू डरलाग्दो रूपमा बाहिर आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको तथ्याङ्क अनुसार गत माघ महिनामा मात्रै जिल्लाभर १० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीहरूमध्ये गालीगलौजका ३, कुटपिटका ४ र अन्य विविध प्रकृतिका ३ वटा घटना रहेका छन् ।
पछिल्लो तथ्याङ्कले घरेलु हिंसाका घटनाहरू दुर्गम गाउँको तुलनामा सुगम मानिने सहर बजारमै बढी हुने गरेको देखाएको छ । माघ महिनामा दर्ता भएका कुल १० घटनामध्ये ४ वटा घटना सदरमुकाम तानसेन बजारभित्रै घटेका छन् । त्यस्तै, निस्दी गाउँपालिकामा २, पूर्वखोला, रम्भा, तिनाउ र रिब्दीकोट गाउँपालिकामा १÷१ वटा हिंसाका घटना घटेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिनुभयो ।
शिक्षित र सचेत वर्ग बसोबास गर्ने क्षेत्रमै घरेलु हिंसाको जोखिम बढी रहेको तथ्याँकले देखाएको छ । प्रहरीमा पुगेका यस्ता हिंसाका घटनाहरू अधिकांश मिलापत्रमै टुङ्गिने गरेका छन् । दर्ता भएका १० वटा उजुरीमध्ये ७ वटालाई दुवै पक्षबीच छलफल गराई मिलापत्र गराइएको छ भने २ वटा मुद्दालाई कानुनी प्रक्रियाका लागि अदालत पठाइएको प्रहरी नायव उपरीक्षक चौधरीले बताउनुभयो । बाँकी एउटा उजुरी भने हालसम्म टुङ्गिन बाँकी रहेको प्रहरीले जनाएको छ । हिंसाका घटनाहरू मिलापत्रमा टुङ्गिने प्रवृत्तिले पीडितले वास्तविक न्याय पाउने वा पुनः हिंसा दोहोरिने भन्नेमा थप चुनौती बढ्ने गरेको सरोकारवालाहरुको भनाइ छ ।








