
पाल्पा । जिल्लाका दश स्थानीय तह मध्ये कार्यसम्पादन मूल्यांकनमा रिब्दीकोट गाउँपालिका पहिलो र बगनासकाली गाउाँपालिका दोस्रो देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याँकन नतिजामा जिल्लाका अन्य पालिका भन्दा सबैभन्दा बढी ६९ दशमलव ९६ प्रतिशत अंक रिब्दीकोट गाउँपालिकाले प्राप्त गरेर पहिलो देखिएको हो । बगनासकाली गाउँपालिकाले ६८ दशमलव ९८ प्रतिशत अंक प्राप्त गरेर दोस्रो भएको छ ।
यसैगरी रम्भा गाउँपालिकाले ६७ दशमलव २१ प्रतिशत, तानसेन नगरपालिकाले ६६ दशमलव ८० प्रतिशत, रामपुर नगरपासिलकाले ६५ दशमलव ६५ प्रतिशत, माथागढी गाउँपालिकाले ६० दशमलव ९५ प्रतिशत, तिनाउ गाउँपालिकाले ६० दशमलव २१ प्रतिशत अंक प्राप्त गरेका छन् । आयोगको नतिजा अनुसार पूर्वखोला गाउँपालिकाले ५६ दशमलव ९० प्रतिशत, निस्दी गाउँपालिकाले ५२ दशमलव ६४ प्रतिशत र रैनादेवी छहरा गाउँपालिकाले ४३ दशमलव ७८ प्रतिशत अंक प्राप्त गरेका छन् । जिल्लाका स्थानीय तहमा सबैभन्दा कमजोर कार्यसम्पादन रैनादेवी छहरा गाउँपालिको देखिएको छ ।
आयोगले स्थानीय तहमा विभिन्न कुल १७ सूचकमा मूल्यांकन गर्ने गरेको छ । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे÷नगरेको, असार मसान्तभित्र बजेट पास गरे÷नगरेका, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे÷नगरेको विषय मूल्यांकनको सूचक मानिएको थियो । यस्तैगरी आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए÷नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे÷नगरेको राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपातसमेतलाई आयोगले मूल्यांकनको आधार मान्ने गरेको छ ।
जिल्लामा कार्यसम्पादन मूल्याँकनमा सबैभन्दा धेरै प्रतिशत अंक ल्याएको रिब्दोकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले तोकिएको सूचनाहरु पूरा गर्ने गरी गाउँपालिकाले काम गरेको बताउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सूचक अनुसारको काम गर्न सक्ने अवस्था नरहेको समेत बताउनुभयो । मूल्याँकनमा धेरै अंक प्राप्त हुँदा गाउँपालिकाको बजेटमा वृद्धि हुने अध्यक्ष कार्कीको भनाइ छ । कार्यसम्पादन राम्रो हुँदा बजेट बढ्ने र नागरिकहरुको माग र आवश्यकताहरु सम्बोधन गर्न सकिने उहाँको भनाइ छ । सबैभन्दा कम अंक प्राप्त रैनादेवी छहरा गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले प्राविधिक त्रुटीका कारण गाउँपालिकाको नतिजा फरक आएको बताउनुभयो । उहाँले सात दिन भित्र आधार र प्रमाणसहित नतिजा पुनरावलोकन गर्न सकिने भएकोले सोही अनुसार आफूहरु पुनरावलोकनका लागि तयारी गरिएको जानकारी दिनुभयो । करुवा अर्धसाप्ताहिक पत्रिकामा समाचार छ ।








