
पाल्पा । बेथल इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलले आफ्नो २९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ मनाएको छ । विद्यालय प्राङ्गणमा आयोजित समारोहमा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका अतिथिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेसका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले निजी क्षेत्रबाट सञ्चालन भएका शिक्षालयहरुले जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले विश्व बजारमा सीप र प्रविधियुक्त जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्न निजी विद्यालयहरुको भूमिका प्रभावकारी रहेको बताउनुभयो । सरकारी र निजी क्षेत्रबीच समन्वय र सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप लगानी आवश्यक रहेको उहाँको भनाइ थियो । पछिल्लो दशकमा शिक्षा, स्वास्थ्य, सञ्चार, प्रविधि र पूर्वाधार क्षेत्रमा भएका सकारात्मक परिवर्तनलाई नवयुवा र आम नागरिकले सही ढंगले प्रचार गर्नुपर्ने आवश्यकता रहेको समेत उहाँले औंल्याउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिका कार्यपालिका सदस्य सविता भट्टराई, प्याब्सनका लुम्बिनी प्रदेश उपाध्यक्ष महेशमान बज्राचार्य, प्याब्सनका जिल्ला अध्यक्ष डॉसुराम पन्त, अभिभावक राजेन्द्रबहादुर धामी, पवित्रा बस्याल, पूर्व विद्यार्थी सभ्यता पराजुली, विद्यार्थीरु साक्षी गाहा, अर्थव थापालगायतले निजी क्षेत्रबाट सञ्चालन भएको स्कुलले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा पु¥याएको योगदानको प्रशंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव नेपालले समय अनुसार प्रविधिमैत्री गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय क्रियाशील रहेको बताउनुभयो । उहाँले विद्यालयबाट गुणस्तरीय शिक्षा सुनिश्चित गरेका कारण अभिभावकहरुको विश्वास जित्न सकिएको समेत बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल रुपचन्द्र थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै चालु शैक्षिक सत्रमा १ सय ८१ जना विद्यार्थीलाई ४७ लाख ५३ हजार ९ सय ८० रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले शैक्षिक क्षेत्रसँगै खेलकुद क्षेत्रमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेको बताउनुभयो । पछिल्लो समय संस्थागत विद्यालय सञ्चालन सम्बन्धी अस्पष्ट ऐन–कानुन, कोभिड–१९ को दीर्घ प्रभाव, अभिभावकको आयस्रोतमा आएको गिरावट, विद्यालयबीच अस्वस्थ प्रतिस्पर्धा, स्थानीय तहका नीतिगत चुनौती, दक्ष जनशक्तिको अभाव तथा विद्यार्थीमा मोबाइल प्रयोगको बढ्दो असरजस्ता विषय मुख्य चुनौतीका रूपमा देखिएको प्रिन्सिपल थापाको भनाइ थियो । उहाँले क्रियाकलाप केन्द्रित शिक्षण सिकाइ, विद्यार्थी केन्द्रित कार्यक्रम, जिल्ला तथा प्रदेशस्तरीय प्रदर्शनी र कार्यशालामा सहभागिता, योग, नृत्य, कला र खेलकुद प्रशिक्षण, व्यक्तित्व तथा नेतृत्व विकास तालिम, प्रविधिमैत्री हाजिरी र परीक्षा प्रणाली तथा नियमित तालिम–गोष्ठी सञ्चालन गर्ने भावी योजना रहेको जानकारी गराउनुभयो ।








