उद्धबुद्ध मावि छैटौँ पटक राष्ट्रपति रनिङ शिल्ड च्याम्पियन

पाल्पा । पूर्वखोला गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि उद्धबुद्ध माध्यमिक विद्यालय, रिङनेरहले जितेको छ । यस वर्षको उपाधिसँगै उद्धबुद्ध मावि छैटौँ पटक च्याम्पियन बन्न सफल भएको छ ।

माघ २४ र २५ गते सञ्चालन भएको प्रतियोगितामा उद्धबुद्ध माविले १३ स्वर्ण, ७ रजत र ६ कास्य गरी कुल २६ पदक जित्दै उपाधि सुरक्षित गरेको हो । यस्तै, मातृभूमि माध्यमिक विद्यालय, देवीनगरले ७ स्वर्ण, ८ रजत र २ कास्य गरी १७ पदकसहित दोस्रो स्थान हासिल गरेको छ भने जनप्रिय माध्यमिक विद्यालय, हेक्लाङले ४ स्वर्ण, ७ रजत र ७ कास्य गरी १८ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको शिक्षा शाखा प्रमुख लोकहरी देवकोटाले जानकारी दिनुभयो ।

गाउँपालिका भित्रका सात माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा कबड्डी, भलिबल र एथ्लेटिक्सतर्फ ३० स्वर्ण तथा मार्सल आर्टतर्फ १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गराइएको प्रमुख देवकोटाले बताउनुभयो । प्रतियोगिताले विद्यालयस्तरमै खेल प्रतिभा पहिचान र विकासमा टेवा पु¥याएको उहाँको भनाइ छ ।

समापन तथा पुरस्कार वितरण कार्यक्रममा विजयी खेलाडीहरूलाई मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्ने बताउनुभयो । स्थानीय तहले खेलकुद पूर्वाधार विस्तारमा प्राथमिकता दिइरहेको बताउदै उहाँले “राष्ट्रपति रनिङ शिल्डले ग्रामीण क्षेत्रमा लुकेका प्रतिभालाई उजागर गर्ने अवसर दिएको ” बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले खेलकुदले विद्यार्थीलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि सबल बनाउने बिचार राख्नुभयो । उहाँले प्रतियोगितामा सहभागी सबै विद्यालय र खेलाडीलाई बधाई दिँदै आगामी दिनमा अझ सशक्त सहभागिताको अपेक्षा व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले प्रतिस्पर्धाले विधार्थीमा स्वस्थ वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय