डिजिटल पत्रकारिता क्षमता विकास कार्यक्रम

पाल्पा । प्रेस चोतारी नेपाल, पाल्पा शाखाको आयोजनामा डिजिटल पत्रकारिता क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ ।

माथागढी गाउँपालिकाको सहयोगमा क्षमता विकास कार्यक्रम भएको हो । कार्यक्रममा गोरखापत्रका उप सम्पादक अजय शर्मा र गणतन्त्र दैनिक पत्रिकाका सम्पादक टीकाबहादुर बस्नेतले एआई के हो ? के होइन, पत्रकारितामा एआईको भूमिका, नेपाली समाचारकक्षको आवश्यकता, समाचार ड्राफ्ट, शीर्षक र सारांश, भाषा, शैली र पठनीयता सुधार, तथ्य जाँचमा एआईको सहयोग, भिडियो, चित्र र एक्सप्लेनर सामग्री, लेखनको आधार, एआई प्रयोगका नैतिक सीमा, पारदर्शिता र दुरुपयोग जोखिम र सुरक्षा नियमका विषयमा सैद्धान्तिक र व्यवहारिक रुपमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम समापन समारोहमा प्रेस चौतारी केन्द्रीय अर्थ सचिव प्रदिप आचार्यले वर्तमान समयमा सूचना प्रविधिको विकासमा कृतिम बौद्धिकताको प्रयोग गरी निर्माण भएका झुटो सूचनाले समाजमा भ्रम फैलाएको बताउनुभयो । क्षमता विकास कार्यक्रममले सत्य तथ्य पत्ता लागउने र समय अनुसार आफ्नो क्षमतालाई प्रविधिमैत्री बनाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले परम्परागत रुपमा गरिएको पत्रकारितालाई समय सापेक्ष रुपमा परिर्वतन गर्नुपर्ने बताउनुभयो । उहाँले पाठकको रुचि र समय अनुसार पत्रकारहरुले आफ्नो क्षमता विकास गर्न सकेको खण्डमा बजारमा विक्न सहज हुने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले पत्रकारहरु प्रविधिमैत्री भएर पत्रकारिता गर्दा समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । उहाँले एउटा गलत समाचारको प्रभाव गहिरो हुने भएकोले सत्य तथ्यको परीक्षण गरेर मात्र समाचार तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सीप सिकेपछि व्यवहारमा लागु गरे पेशालाई मर्यादित बनाउनु पर्ने बताउनुभयो ।

संस्थामा आवद्ध पत्रकारहरुको समय र रुचि अनुसार क्षमता अभिवृद्धि गर्न कार्यक्रम गरिएको अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो । उहाँले प्रविधिको सही प्रयोग गरी पत्रकारितामा क्रियाशील हुँदा थप क्षमता वृद्धिका कार्यक्रम गरिने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्याल, सहजकर्ता टीकाबहादुर बस्नेत र सहभागीको तर्फबाट किष्ण पोखरेलले आफ्ना भनाइ राख्दै एआईको प्रयोगले पत्रकारितालाई सहज बनाउने बताउनुभयो । उहाँहरुले सबै कुरा एआईको भर पर्नेभन्दा पनि आवश्यक विषयमा सहयोग लिन सकिने बताउनुभयो । (करुवा पत्रिकामा समाचार छ )

सम्बन्धित खवर