पाल्पामा एचपीभी खोप अभियान

पाल्पा । आइतबारदेखि पाल्पामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानको सुरु भएको छ । माघ २५ गतेदेखि सुरु भएको अभियान फागुन २ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको द्ध । अभियानमा पाल्पाका दुई हजार ४३ छात्रा तथा किशोरीहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले दश स्थानीय तहका एक सय ९६ वटा सामुदायिक र ३१ वटा संस्थागत विद्यालयका छात्रा, गत वर्ष छुटेका र विद्यालय बाहिर रहेका किशोरीलाई खोप दिने गरी अभियान सुरु भएको बताउनुभयो ।

यस अभिायन अन्तरगत पाल्पामा कक्षा ६ मा अध्ययनरत १ हजार ९ सय ९५ जना छात्रा, कक्षा ७ देखि १० सम्मका छुट ३५ जना, विद्यालय बाहिरका १० वर्ष उमेरका १२ जना र विद्यालय बाहिरका ११ वर्षदेखि १४ वर्ष उमेरका छुट एक जना किशोरीले खोप लगाइने प्रमुख पोखरेलको भनाइ छ ।

यस पटक रामपुर नगरपालिकामा चार सय ८, पूर्वखोला गाउँपालिकामा एक सय १०, रम्भा गाउँपालिकामा एक सय २५, बगनासकाली गाउँपालिकामा ९०, तानसेन नगरपालिकामा चार सय ८५, रिब्दीकोट गाउँपालिकामा एक सय ११, रैनादेवी छहरा गाउँपालिकामा दुई सय ९, तिनाउ गाउँपालिकामा एक सय ६९, माथागढी गाउँपालिकामा एक सय ९१, निस्दी गाउँपालिकामा एक सय ४५ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । खोप अभियानका लागि चार सय ५४ जना स्वास्थ्यकर्मी र २ सय २७ जना स्वयमसेवक परिचालित गरिएको स्वासथ्य कार्यालयले जनाएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले किशोरीहरुको पाठेघरको मुखको क्यानसरको रोकथामका लागि खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले खोप अभियानमा लक्षित वर्ग कोही नछुट्ने वातावरणका लागि प्रचारप्रसारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खोपका विषयमा समाजमा देखिएका केही गलत भ्रमहरु हटाएर ढुक्कका साथ किशोरीहरुले खोप लगाउने अवस्था निर्माणमा सबै जिम्मेबार बन्नुपर्ने प्रमुख खनालको भनाइ छ ।

खोप अभियानमा विद्यालयमा अध्ययरत किशोरीहरुलाई सम्बन्धित विद्यालयमा नै खोप लगाउने व्यवस्था गरिएको छ । विद्यालय बाहिरका किशोरीहरुलाई खोप सञ्चालन हुने नजिकको विद्यालय वा खोप अभियानको अन्तिम दिनमा वडाको स्वास्थ्य संस्थाबाट खोप सेवा प्रदान गरिने सूचना अधिकारी मधुसुधन भट्राईले जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सर नेपाली महिलाहरूको मृत्युको प्रमुख कारण बन्ने गरेको छ । यस रोगको मुख्य कारक ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) हो । यस जोखिमलाई कम गर्न एचपीभी खोप एक अचुक सुरक्षा उपाइ भएको चिकित्सहरुको बताएका छन् । करिब सत प्रतिशत प्रभावकारीता भएको खोप छोरीहरूलाई भविष्यको क्यान्सरको जोखिमबाट बचाउन र सुरक्षित जीवन सुनिश्चित गर्न लगाउन आवश्यक रहेको उनीहरुको भनाइ छ । करुवा पत्रिकामा समाचार छ ।

सम्बन्धित खवर