
पाल्पा । सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रमको अर्धवार्षिक प्रगति समीक्षा गरेको छ । कार्यालयले बुधबार प्रदेश स्थापना दिवसका अवसरमा प्रगति समीक्षा तथा सुझाव संकलन कार्य गरेको हो ।
कार्यक्रममा कार्यालयका निमित्त प्रमुख लक्ष्मण घिमिरेले विभिन्न शैक्षिक, सामाजिक तथा पूर्वाधारसम्बन्धी कार्यक्रमहरूमा हालसम्म भौतिक र वित्तीय प्रगति बारे जानकारी गराउनुभयो । उहाँले दरबन्दी अनुसारको जनशक्ति नुहँदा र साना साना योजनाहरुको कार्यान्वयन गर्नुपर्दा उपलब्धि मापन गर्न कठिनाई हुने गरेको बताउनुभयो ।
यस कार्यालयले पाल्पा र गुल्मी जिल्लालाई कार्यक्षेत्र बनाई शिक्षा, महिला सशक्तिकरण, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका, सामाजिक सुरक्षा तथा लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको निमित्त प्रमुख घिमिरेले बताउनुभयो । उहाँले कार्यालयमा एक सय ७९ वटा आयोजना रहेकोमा ३२ वटा योजना ठेक्का प्रकृयामा गएको बताउनुभयो ।
कार्यालयले यस आर्थिक वर्षमामा २१ करोड ४१ लाख ३२ हजार रुपैयाँको अख्तियारी प्राप्त भएको छ । हालसम्म उपभोक्ता समिति तथा ठेक्कामार्फत विभिन्न कार्यक्रमहरू अघि बढाइएको निमित्त प्रमुख घिमिरेले बताउनुभयो । महिला उद्यमशीलता विकास तालिम, घरेलु हिंसा पीडित महिलाका लागि सुरक्षित आवास गृह (सेफ हाउस) सञ्चालन सहयोग, अपाङ्गता भएका व्यक्तिहरूका लागि समुदायमा आधारित पुनःस्थापना कार्यक्रम तथा विद्यालय स्वास्थ्यकर्मी कार्यक्रम विस्तार जस्ता कार्यक्रमहरूको उपलब्धिका देखिने उहाँको भनाइ छ ।
योजना कार्यान्वयनमा केही जटिलता भए पनि बाँकी अवधिमा कार्यतालिका कडाइका साथ पालना गरी प्रगतिलाई तीव्र बनाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । आगामी दिनमा बहुवर्षीय योजना निर्माण तथा कार्यान्वयन, विद्यालयस्तरका शैक्षिक कार्यक्रम विस्तार, महिला र लक्षित वर्ग केन्द्रित कार्यक्रमलाई नतिजामुखी बनाउने तथा प्रगतिमा देखिएका चुनौतीहरू समाधान गर्नेगरी काम गरिएको निमित्त प्रमुख घिमिरेले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले टुक्रे योजना र जग्गा भोगाधिकार सम्बन्धि कानूनीमा देखिएको समस्याको अन्त्य गर्नुपर्ने, योजना तयार पहुँचका आधारमा नभै आवश्यकताका आधारमा तय गर्नुपर्ने र योजना कार्यान्वयलाई प्रभावकारी बनाउनुपर्नेलगायतका विषयमा सुझाव राखेका थिए ।








