चिदीपानीको घुम्ती शिविरमा चार सय २९ जना लाभान्वित

पाल्पा । माथागढी गाउँपालिकाको आयोजनामा १ नं. वडा चिदीपानीमा सञ्चालन भएको एकीकृत घुम्ती शिविरमा चार सय २९ जना लाभान्वित भएका छन् ।

नागरिकलाई घरदैलोमै बहुक्षेत्रीय सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविर वडा कार्यालय भवन, चिदीपानीमा सञ्चालन गरिएको हो । शिविरमार्फत एलोपेथिक स्वास्थ्य सेवा अन्तर्गत हाडजोर्नी रोग परीक्षण, जनरल मेडिसिन, स्त्री रोग परीक्षण तथा परामर्श, छाला रोग परीक्षण, प्रजनन स्वास्थ्य सेवा, यौन रोग परीक्षण, परिवार नियोजन सेवा (इम्प्लान्ट तथा आई.यु.सि.डी.), ल्याब सेवा तथा निःशुल्क औषधि वितरण गरिएको थियो। शिविरबाट स्वास्थ्य सेवातर्फ १८५ जना, कृषि सेवातर्फ ८४ जना, पशु सेवातर्फ ८९ जना तथा आयुर्वेद सेवा अन्तर्गत जेष्ठ नागरिकतर्फ १० जना गरी जम्मा तीन सय ६८ जना लाभान्वित भएका छन् ।

यसैगरी आयुर्वेद सेवातर्फ दीर्घ रोग, जीवनशैलीजन्य समस्या तथा सामान्य रोगहरूको आयुर्वेदिक उपचार, परामर्श तथा औषधि वितरण गरिएको थियो। कृषि तथा पशुपन्छी सेवातर्फ बाली तथा माटो परीक्षण, फार्म दर्ता तथा नवीकरण सेवा उपलब्ध गराइएको थियो भने महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखामार्फत जेष्ठ नागरिक परिचय पत्र वितरण गरिएको थियो ।

कार्यक्रमका गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले एकीकृत घुम्ती शिविरले नागरिकको समय, श्रम र खर्च बचत गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई नागरिकको नजिक पु¥याउने महत्वपूर्ण माध्यम शिविर रहेको बताउदै गाउँपालिकाको प्राथमिकता भनेकै नागरिकलाई एकै स्थानबाट छिटो, सहज र गुणस्तरीय सेवा प्रदान गर्नु रहेको बताउनुभयो ।

कार्यक्रमका वडाध्यक्ष राजकुमार पन्थीले वडा तहमा सेवा प्रवाहलाई प्रभावकारी बनाउने माध्यमका रूपमा एकीकृत घुम्ती शिविर उपयोगी भएको बताउनुभयो । उहाँले नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले सबै शाखा तथा सम्बन्धित निकायबीच समन्वय गरेर सेवाग्राहीलाई व्यवस्थित, सहज र प्रभावकारी सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले सेवाग्राहीको सहजताका लागि वार्षिक रुपमा शिविर संचालन गर्ने गरिएको बताउनुभयो ।

सम्बन्धित खवर