तिनाउमा मोतियाबिन्दु शल्यक्रियाबाट ७८ जनाले पाए दृष्टि

पाल्पा । तिनाउ गाउँपालिकामा आयोजित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरबाट ७८ जना बिरामीले दृष्टि प्राप्त गरेका छन् । गाउँपालिकाको आयोजनामा सम्पन्न शिविरमार्फत मोतियाबिन्दुबाट पीडित बिरामीहरूले शल्यक्रिया सेवा पाएका हुन ।

पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविर तिनाउ गाउँपालिका–२ दोभानस्थित स्वास्थ्य चौकीमा सम्पन्न भएको हो । शिविरमा गाउँपालिका भित्रका वडाहरुमा आयोजित आँखा परीक्षण शिविरबाट मोतियाबिन्दु पहिचान भएका एक सय २० जना बिरामीलाई शल्यक्रिया सेवा प्रदान गर्ने लक्ष्य राखिएको थियो । तर अन्य स्वास्थ्य जटिलताका कारण सबैको शल्यक्रिया गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरको नेतृत्व नेत्र चिकित्सक डा. बेबिका फुयालले गर्नुभएको थियो । उहाँको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले सेवाग्राहीहरूलाई गुणस्तरीय आँखाको उपचार सेवा उपलब्ध गराएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष यादव अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरको पहिलो दिन सोमबार ४६ जना र दोस्रो दिन मंगलबार ३२ जना गरी जम्मा ७८ जनाले शल्यक्रिया सेवा लिएका हुन् ।

तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै नियमित रूपमा यस्ता शिविरहरू आयोजना गर्दै आएको बताउनुभयो । उहाँले दुर्गम क्षेत्रका नागरिकहरू महँगो उपचार र टाढाका अस्पताल धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थानीय तहमै वार्षिक रूपमा स्वास्थ्य शिविरमार्फत सेवा उपलब्ध गराइँदै आएको उल्लेख गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि आँखासम्बन्धी समस्या मात्र नभई अन्य स्वास्थ्य सेवाहरूलाई समेत सहज र पहुँचयोग्य बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर