
पाल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको अक्षरस पालना गर्ने प्रतिबद्धता गरेका छन् ।
मंगलबार पाल्पा क्षेत्र नं. २ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको राजनीतिक दल र उम्मेदवारहरुसंग निर्वाचन आचारंहिताका विषयमा भएको छलफलमा आचारसंहिता विपरितका कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्माले सबै उम्मेदवार, राजनीतिक दल र सरोकारवाला पक्षले निर्वाचन आचारसंहिता पूर्ण रुपमा पालन गरेर सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भूमिका फरक भए पनि सबैको एउटै लक्ष्य शान्तिपूर्ण, निष्पक्ष रुपमा निर्वाचन गर्नु रहेकोले सबै सरोकारवालाले आ–आफ्नो क्षेत्रबाट आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा निर्वाचन आचारसंहिताका विषयमा जिल्ला निर्वाचन अधिकारी महेश शर्माले प्रस्तुति राख्नुभएको थियो । उहाँले इमानदारितापूर्वक आचारसंहिता पालना गर्दा सबैलाई सहज हुने बताउनुभयो ।
कार्यक्रममा आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले अहिलेसम्म लिखित रुपमा आचारसंहिता उल्लंघनको उजुरी नआएको बताउनुभयो । उहाँले तीन वटा उल्लंघनका जानकारी फोनमार्फत आएको र त्यसको विषयमा सम्बन्धित पक्षलाई सचेत गराउने काम भएको बताउनुभयो । गुनासोका आधारमा सबै पालिकालाई पालिकाको काममा बाहेक राजनीतिक गतिविधिमा स्थानीय तहका सवारी साधनको प्रयोग नगर्न विषयमा पत्राचार गरेको अनुगमन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
छलफलमा सहभागी उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालनाका लागि प्रतिबद्धता रहेको बताउदै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई समान व्यवहार गर्नुपर्ने, उजुरी कुरेर बस्ने भन्दा अनुसन्धानमा जोड दिन आग्रह गरेका थिए । यसका साथै सहभागी केही उम्मेदवारले कतिपय सञ्चारमाध्यमले सीमित राजनीतिक दललाई मात्र प्राथमिकता राखेको, आर्थिक चलखेल रोक्नुपर्नेलगाएका विषयमा भनाइ राखेका थिए ।
प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले आचारसंहिता उल्लंघन हुने कार्य कोही कसैले गर्न नहुने बताउनुभयो । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिता माघ ४ गतेदेखि लागू भइसकेको छ । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा १४ राजनीतिक दल र २ स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।








