
पाल्पा । माथागढी १ नं. वडा चिदीपानीमा वडाध्यक्ष कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
सप्तपथ युवा क्लबको आयोजनामा सौभाग्य माध्यमिक विद्यालयको खेल मैदानमा वडाध्यक्ष कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता भएको हो ।
प्रतियोगितामा पुरुषतर्फ २५ समूह र महिलातर्फ ५ समूहको सहभागिता रहेको थियो । जसमा पुरुषतर्फ मनकामना भलिबल समूह पहिलो बनेको छ । यस्तैगरी आयोजक सप्तपथ युवा क्लब दोस्रो र बिर्घा भलिबल समूह तेस्रो भएको प्रतियोगिताका संयोजक साजन चिदीले जानकारी दिनुभयो । उहाँले विजेता समूहलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको बताउनुभयो । यस्तैगरी महिला तर्फ रमैडाडा भलिबल समूह पहिलो, आयोजक सप्तपथ युवा क्लब दोस्रो र हेक्लाङ भलिबल समूह तेस्रो भएको छ । विजेता समूहलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार रुपैयाँ नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको प्रतियोगिता संयोजक चिदीले बताउनुभयो ।
समापन समारोहमा माथागढी गाउँपालिका १ नं. वडाध्यक्ष राजकुमार पन्थीले खेलकुदले युवामा अनुशासन, स्वास्थ्य तथा सामाजिक एकता विकास गर्ने बताउनुभयो । उहाँले स्थानीय तहबाट खेलकुद प्रवद्र्धनका लागि आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीय स्तरमा प्रतिभा पहिचान र विकासका लागि वडामा भएको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउदै प्रतियोगितालाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य टोलबहादुर मश्राङ्गी थापा, चन्दादाताहरु मोहोन आले, प्रकास दर्जी, महेश आचार्य, माधव आचार्य, खुमा रेग्मी, चेतबहादुर केसीलगायतले वडाध्यक्ष कप भलिबल प्रतियोगिताले वडामा खेलकुद संस्कृतिको विकास, युवा सशक्तीकरण तथा सामाजिक सद्भाव प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको सप्तपथ युवा क्लबका अध्यक्ष शिव प्रसाद ढुङ्गानाले बताउनुभयो । सोही अवसरमा प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आर्थिक सहयोग गर्नुहुने दाताहरूलाई सम्मानपत्रसहित धन्यवाद ज्ञापन गरिएको थियो ।








