घर र समाजलाई मन र मतले जितेकी बिमला बौडेल

पाल्पा । तानसेन ८ मदनपोखराकी बिमला बौडेलको दैनिकी निकै व्यस्त छ, आजभोली । घर परिवारको जिम्मेवारी र खेती किसानीको नियमित कर्म त छँदै छ वडा सदस्य भए पछि वडाको बैठक, घरदैलो, नागरिकका गुनासोको सुन्ने र जवाफको खोजी जस्ता धेरै काममा उहाँ व्यस्त हुनुपर्छ । २०७९ साल बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य निर्वाचित भएसँगै उहाँको सामाजिक सक्रियता अझ बढेको हो ।

आमा बाको पाँचमध्ये जेठो सन्तानका रुपमा २०४८ सालमा हालको रैनादेवी गाउँपालिका– ४ छहरामा जन्मनुभएकी बिमला वौडेलको बाल्यकाल सामान्य किसान परिवारमा बित्यो । उहाँ २०६६ सालमा मदनपोखरा उम बहादुर बौडेल संग विवाह गरेर आएपछि पनि उहाँको परिवार खेती किसानीमै निर्भर रह्यो । सात आठ रोपनी जग्गामा मौसमी र बेमौसमी तरकारी खेती तथा बाख्रापालन आम्दानीको मूख्य श्रोत बन्यो ।

प्लस टुसम्म अध्ययन गर्नुभएकी बौडेलले खेतीपाती र घरधन्दामा मात्र आफूलाई सिमित राख्नुभएन । आफ्ना लागि आफैँ लाग्नु र लड्नुपर्छ भन्ने मान्यता राख्ने उहाँ गाउँमा आमा समूहमा आवद्ध हुनुभयो । बौडेलले २०६८ सालमा नागरिक सचेतना सहजकर्ताको रूपमा काम गर्न थाल्नुभयो । यसबापत प्राप्त हुने पारिश्रमिकले परिवारको खर्च टार्न ठुलो भरथेग भयो । यो अवसर उहाँका लागि आर्थिक गर्जो टार्ने मेसो मात्र होइन समुदायका मानिससँग जोडिने र उनीहरूका सुखदुख नजिकैबाट बुझ्ने अवसर पनि बन्यो ।

विपन्न, दलित, महिला, जनजाती तथा फरक क्षमता भएका नागरिकलाई समाजका हरेक बाधा अड्चनसँग लड्न चुनौतीपूर्ण छ नै । तर, चुनौती छ भनेर चुप लागेर बस्ने कुरा पनि त भएन । ती चुनौती चिर्न आर्थिक आत्मनिर्भरताको बाटो पहिल्याउनु पहिलो शर्त थियो । त्यसैले बिमला बौडेलले पनि आम्दानी भएपछि आत्मबल बढ्छ भन्ने कुरा बुझाउँदै हिँड्नुभयो । स्वरोजगारी, आम्दानी र बचत बढाउने उपाय, नियमित बचत गर्ने बानी, फजुल खर्च कटौती जस्ता कुरामा उहाँले जोड दिनुभयो । महिलाका लागि उत्प्रेरकको रूपमा काम गर्नु एकातिर खुशी र सन्तोषको विषय त थियो नै अर्कोतिर यसले उहाँमा नेतृत्व विकास पनि गराउँदै लग्यो । समुदायमा उहाँ चिनिँदै पनि जानुभयो । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचन पछि बौडेल तानसेन नगरपालिकाको मनोनित कार्यपालिका सदस्य चयन हुनुभयो । २०७९ सालमा आइपुग्दा त उहाँ तानसेन–८ को महिला सदस्यका रूपमा निर्वाचित नै हुनुभयो ।

बौडेलको परिवारमा अहिले श्रीमान .र १३ वर्षीया छोरीछन् । उहाँका श्रीमानले एग्रोभेट संचालन गर्नुहुन्छ । यही पसल नै परिवारको आम्दानीको मुख्य स्रोत हो । श्रीमान बाहिरको काममा निस्कँदा बौडेलले पसल पनि हेर्नुपर्छ । योसँगै घरायसी कामतथा छोरीको लागि अभिभावकीय भूमिका निर्वाह उहाँको नियमित जिम्मेवारी हो । समाजले सामान्य र महिलाको मात्रै कामका रूपमा लिइ दिने घरधन्दा, सन्तान हुर्काउने बढाउने जस्ता कामबाट बाहिर निस्कन महिलालाई साँच्चै कठीन रहेको अनुभव भने उहाँलाई पनि नभएको होइन । बा, श्रीमान र छोरा अर्थात् पुरुषको नामबाट मात्र महिलाको परिचय स्थापित हुने सनातनी परम्परालाई चिर्दै बिमला आफ्नो परिवारको अगुवा र धेरै महिलाका लागि उदाहरण बन्नुभएको छ । श्रीमतीको नामबाट चिनिन पाउनु हिनताबोध नभएर गौरवको विषय भएको उहाँका श्रीमान् उम बहादुर बताउनुहुन्छ । श्रीमानको यही सकारात्मक सोच र होस्टे हैँसेले बिमलालाई अघि बढ्न ठुलो सहयोग गरिरहेको छ । नत्र चुलोचौकोको परिधी नाघेर केही गर्न कहाँ सजिलो थियो र ?

वडाबासीले विश्वास गरेर मत दिएर जिताएपछिको जिम्मेवारी निर्वाह गर्न सजिलो छैन । थरीथरीका गुनासो सुनुवाइ, समस्याको सम्बोधन र समाधानको पहलका लागि रात दिन खटिनुपर्दा व्यक्तिगत र पारिवारिक धेरै काम छुट्छन् । जनप्रतिनिधिको आम्दानी उल्लेख्य केही हुँदैन । वडा सदस्यका रुपमा पाउने सामान्य दैनिक खर्च, यातायात र नाममात्रको बैठक भत्ताले मात्र नपुग्ने भएपछि बौडेलले धेरैजसो काम नीजि खर्चमा चलाउने गर्नुभएको छ । उहाँले बौडेलले सामना गर्ने चुनौती आर्थिक मात्र होइन, सामाजिक पनि छन् । घरको काम महिलाकै जिम्मेवारी ठान्ने मानसिकता अनि जातपात र छोइछिटो बाँकी नै रहेको समाजमा अनेकौँ चुनौती नहुने कुरै भएन । तर चुनौती छन् भनेर भाग्ने होइन सामना गर्छु भनेर आँट्ने अठोट भएर पनि होला उहाँलाई यी सबै अब सामान्य लाग्न थालेका छन् । त्यसैले त समुदायका समस्याको सुनुवाइ र पैरवी अनि स्थानीय आबश्यकताको परिपूर्तीका लागि उहाँ निरन्तर सक्रिय हुनुहुन्छ ।

घर र सार्वजनिक जिम्मेवारी बिचको सन्तुलन मिलाउनु महिलाका लागि अझै पनि सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको छ । अनि यही चुनौतीलाई पन्छाउन नसक्दा धेरै महिला घरधन्दामै सिमित हुनुपरेको छ । धेरैलाई अघि बढ्छु भन्ने आँट नै आउँदैन । आँटेर अघि बढ्न थालिहाले पनि हरेस खाएर बिचैबाट पाइला मोड्नुपर्ने अवस्था आउँछ । आर्थिक सिमितता र सामाजिक बन्धनले बाँधिएका पाइला निरन्तर अघि बढाउन ठुलो शाहस, धैर्यता र मेहनत आवश्यक पर्छ । बिमला बौडेल त्यस्तै थोरै महिलामध्येकी एक हुनुहुन्छ जो आम महिलाका लागि एक प्रेरणा र हौसला बन्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय