
पाल्पा । रम्भा गाउँपालिकाले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । गाउँपालिकाको गाउँपालिकासहित पालिकाका पाँच ५ वडामा चालु आर्थिक वर्षको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ गरेको हो ।
गाउँपालिकाले १ नं. वडाको हुँगी, २ नं. वडाको फोक्सिङ्गकोट, ४ नं. वडाको हुमिन र ५ नं. वडाको ताहुँपछि शुक्रबार ३ नं. वडा पिपलडाँडा र गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको हो ।
सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले चौमासिक कार्यसम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै गरी नागरिक प्रतिवेदन र बर्हिगमन प्रतिवेदनसहित नागरिकको सुझाव र गुनासो समेटिएको प्रतिवेदन सहजीकरण संस्था संचार मन्च, पाल्पाका माधवप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको थियो ।
सहभागीहरुले सुनुवाइमा यार्सागुम्बाको गुणस्तर बारे, सडक पूर्वाधार विकास, चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, योजना सञ्चालन हुँदा निर्माण व्यवसायीहरुलाई मात्र फाइदा हुने, जन्मदर्ता फरक पर्दा विद्यार्थीलाई परेको समस्या, बसाइसराईँको दर बढ्दा आउने समस्यामा पालिकाको ध्यान जानुपर्ने विषयमा, फोहोर व्यवस्थापन, कृषि क्षेत्रमा गाउँपालिकाको योजना, बजार अनुगमन, कृषि प्राविधिकहरु खेतबारी सम्म पुग्ने अवस्थाको निर्माण, शिक्षा क्षेत्रको गुणस्तर सुधार, आर्थिक पारदर्शिता हुनुपर्नेलगायतका विषयमा प्रश्न, सुझाव र जिज्ञासा प्राप्त भएको सुझाव प्राप्त भएको सूचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले नागरिकको चाहना बुझ्न र सही योजना निर्माणका गरी कार्यान्वयन गर्ने उद्देश्यले सबै वडा र गाउँपालिकामा सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो । उहाँले सुझावले नै जनप्रतिनिधिलाई थप जवाफदेही बन्न सहयोग गर्ने बताउनुभयो । नागरिकका आवश्यकता र मागको अपेक्षा धेरै रहेको तर सीमित स्रोतमा एकै पटक सम्बोधन गर्न समस्या भएकोले क्रमिक रुपमा प्राथमिकताको आधारमा गर्ने गरी अगाडि बढेको अध्यक्ष भण्डारीले भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर पुनले कर्मचारीको अभाव, कर्मचारी भर्ना प्रक्रिया, घटनादर्ता नियमावली संशोधन, दुर्घटना बिमाको ढिलाई, वडा र गाउँपालिकाबीचको समन्वयलगायतका विषयमा प्राप्त सुझावप्रति ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले सबै वडामा सञ्चालन भएको सार्वजनिक सुनुवाइ मार्फत आएका सुझावलाई आत्मसाथ गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख पोष्टराज न्यौपानेले स्थानीय तहको स्थापना पछि २०८१ सम्मको बेरुजु २७ करोड ५० हजार रहेकोमा अहिले २ करोड ७५ लाखमा झरेको बताउनुभयो । उहाँले यस आर्थिक वर्षमा आन्तरिक राजश्व एक करोड ३८ लाख प्रक्षेपण गरेकोमा अहिलेसम्म २० लाख ३० हजार उठेको बताउनुभयो ।
३ नं. वडाका वडाध्यक्ष थमन बहादुर गाहाले हरेक वर्ष प्राथमिकता अनुसार कामलाई तीव्रता दिएको बताउनुभयो । सीमित स्रोत भएका कारण एकैपटक नागरिकको चाहना बमोजिम बजेट विनियोजन गर्न नसकेको उहाँले बताउनुभयो । वडाका लागि अति आवश्यक योजना अगामी सभाबाट रकमान्तर र शीर्षकान्तर गरेर सञ्चालन गर्ने वडाध्यक्ष गाहाले प्रतिवद्धता व्यक्त गर्नुभयो ।








